नदी कटानले बर्सेनि सयौँ बिघा जमीन कटान , कटानले तटीय क्षेत्रमा त्रा,स

टीकापुर, कैलालीको टीकापुर क्षेत्रमा कर्णाली नदी कटानले बर्सेनि सयौँ बिघा जमीन कटान गर्दछ । बर्खा लाग्न शुरु भएपछि यहाँका नागरिकलाई हरेक वर्ष नदी कटान तथा डुबानको त्रासले सताउँछ । यस वर्ष पनि तीव्र नदी कटानपछि कैलालीको टीकापुर नगरपालिकाका तटीय क्षेत्रका नागरिक त्रसित छन् । नदीमा पानीको बहाव बढ्न थालेपछि यहाँ कर्णाली नदीको कटान तीव्र हुँदा बस्ती तथा जमीन जोखिममा पर्ने गर्दछ ।

कर्णाली नदीको कटानले टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनक्षेत्रमा २० बिघा जमीन कटान गरेको छ । नदीले बर्सेनि सामुदायिक वनको जमीन कटान गर्दै आएको छ । नदी कटान नियन्त्रणका लागि वनको उत्तरपूर्वी भागमा तटबन्ध निर्माणको काम भइरहेको छ । तटबन्ध निर्माण भइरहेकै क्षेत्रमा नदीले कटान तीव्र पारेको छ ।

“सामुदायिक वनको २० बिघा बढी जमीन कटान भइसकेको छ । यतिखेर नदीले कटान झन तीव्र पारेको छ”, वन समितिका अध्यक्ष धनसिंह साउदले भन्नुभयो, “जङ्गल तहसनहस भइसकेको छ । कर्णाली नदीमा तटबन्ध शुरु भएको छ वर्ष भइसक्यो, अहिलेसम्म सकिएको छैन । यसले झन कटान बढेको छ ।”

अध्यक्ष साउद बर्सेनि तटबन्धका नाममा हुने उत्खननको काम सम्पन्न नगर्दा नदीले धार परिवर्तन गर्दै वन तहसनहस गर्न थालेको बताउनुहुन्छ । “तटबन्ध निर्माण कार्यमा दैनिक पाँच÷छ जनामात्र कामदार काममा खटेका छन्”, उहाँ भन्नुहुन्छ, “काम धमाधम गरे पो सकिन्थ्यो । तटबन्ध निर्माण कार्यले झन कटान बढाएको छ । जङ्गलको एउटा प्लट पूरै कटान भइसकेको छ । बेत जङ्गल नोक्सान भएको छ ।”

उहाँले तटबन्ध निर्माणका नाममा भइरहेको ढुङ्गा उत्खननले नदी कटान तीव्र पार्दा झन जोखिम बढेको आरोप लगाउनुभयो । सामुदायिक वन क्षेत्रमा तटबन्ध कार्यको ठेक्का सिद्धि साइ कन्स्ट्रसनले लिएको छ । टीकापुर नगरपालिकाका प्रवक्ता तथा वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला वन क्षेत्रमात्र नभई नगरपालिकाको दौलतपुर, श्रीलङ्का, धनसिंहपुर क्षेत्र, सत्ती पुलसमेत जोखिममा रहेको बताउनुहुन्छ ।

“श्रीलङ्का बस्ती बर्सेनि दर्जनौँ विघा कटान हुँदै आएको छ । यस वर्ष त अझ हिउँदमा पनि कटान भएको छ । त्यहाँ नदीमा पानीको बहाव घट्दा बढी कटान भएको छ”, वडाध्यक्ष ठकुल्ला भन्नुहुन्छ, “यस वर्ष बर्दियातर्फ तटबन्धको काम शुरु भएको थियो । बर्खा लागेपछि त्यो काम पनि शुरु हुन सकेको छैन । यस वर्ष बर्सातमा थप जोखिम बढ्ने देखिएको छ ।”

कैलाली जिल्लामा रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कर्णाली नदी नियन्त्रणका लागि दर्जनभन्दा बढी ठाउँमा तटबन्ध निर्माणको काम गरिरहेको छ । निर्माण भइरहेका तटबन्ध कार्य ठेकेदार कम्पनीले समयमै निर्माण नगर्दा थप जोखिम बढेको वडाध्यक्ष ठकुल्लाको भनाइ छ ।

सात वर्षअघि कैलाली र बर्दिया जोड्न कर्णाली नदीमा निर्माण भएको सत्ती पुलसमेत नदी कटानका कारण जोखिममा छ । पुलको बर्दियातर्फ कटान तीव्र भएपछि पुल जोखिममा परेको हो। “बर्दियातर्फ कटान हुँदा छेउमा प्वाल परेको पुल बर्सेनि मर्मत गरेर टालटुल मात्र पारिएको छ । यो पुल भत्केमा बर्दिया र कैलालीको सम्पर्क टुट्ने अवस्था आउनेछ”, स्थानीयवासी शेरबहादुर साउदले भन्नुभयो, “हरेक वर्ष बर्खामा यहाँका नागरिकले नदी बस्तीमा पस्नबाट जोगाउन जैविक तटबन्ध गर्ने गरेका छन् । यसरी त्रासमा कति दिन यहाँ बस्न सकिएला ?”

हुलाकी राजमार्गअन्तर्गत पर्ने सत्तीघाट पुल निर्माण भएको पाँच वर्षसम्म निर्माण कम्पनीले मर्मत गर्ने गरेको थियो । अब निर्माण कम्पनीको सम्झौता म्यादसमेत सकिएको छ । “यही पुल पार गरेर हामी श्रीलङ्का ओहोरदोहोर गर्नुपर्छ”, स्थानीयवासी ललित बुढाले भन्नुभयोे, “टीकापुर–८ र बर्दियाको राजापुर नगरपालिका जोड्ने पुलले बर्दिया र कैलाली मात्र नभई सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलाई जोड्ने गर्दछ, पुल जोखिममा रहेकाले अब आवतजावतमा समस्या हुने भएको छ ।”

तेह्र स्पानको ५३१ मिटर लामो पुलको किनारमा बर्सेनि तारजाली भासिदै गएको छ । बर्सातको समयमा नदीमा पानीको बहाव बढेलगत्तै तारजाली भासिने गरेको छ । रसुवा कन्स्ट्रक्सनले २०७१ सालमा निर्माण सम्पन्न गरेको पुल भासिदै जाँदा यहाँका नागरिकलाई बर्सातमा सधैँ तनाव हुने गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।