राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री नियुक्त, ३ बजे शपथ
विराटनगर, १६ कात्तिक । नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश १ का प्रदेश प्रमुख सोनाथ अधिकारी प्यासीले मंगलबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त मुख्यमन्त्री राईको मंगलबार अपरान्ह ३ बजे शपथ ग्रहण हुने प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत विमल पौडेलले न्युज कारखानालाई जानकारी दिए । नवनियुक्त मुख्यमन्त्री राईले मंगलबारै पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।
राजेन्द्र राईले मुख्यमन्त्रीको शपथ लिँदै, पाँच सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी
विराटनगर, १६ कात्तिक । प्रदेश १ का प्रस्तावित मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईको नेतृत्वमा गठबन्धन दलले सरकार विस्तारको तयारीमा जुटेको छ । मुख्यमन्त्रीको सपथलगतै मन्त्रीहरूलाई पनि सपथ गराउने तयारीमा गठबन्धदन दलहरू जुटेका छन् । मुख्यमन्त्रीसहित कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको तर्फबाट एकएक जना गरी पाँच सदस्यीय मन्त्रिपरिषद् गठन तयारी रहेको प्रस्तावित मुख्यमन्त्रीका उम्मेदवार राईले बताए ।
मन्त्रीहरूमा कांग्रेसबाट उपनेता हिमाल कार्की र प्रमुख सचेतक केदार कार्कीमध्ये एक जना, माओवादी केन्द्रबाट दलका नेता इन्द्रबहादुर आङ्बो र प्रमुख सचेतक झलकबहादुर मगरमध्ये एक जना, एकीकृत समाजवादीबाट उपेन्द्र घिमिरे, सरिता थापा तथा खिनु लङवामध्ये एक जना र जनता समाजवादी पार्टीबाट जयराम यादवको नाम चार्चामा छ ।
एकीकृत समाजवादीले भने आफ्नै मुख्यमन्त्री भएको तथा नयाँ पार्टी भएकाले समावेशिता देखाउनुपर्ने बाध्यताका कारण खिना लङवा लिम्बूको सम्भवाना बलियो देखिएको छ । मेची–कोशी र सगरमाथालाई समेट्ने गरी मन्त्री बनाउने तयारी गरेको नेता राईले बताए । मुख्यमन्त्री कोशीबाट बनेका कारण मेचिबाट खिनु लङवा लिम्बूलाई मन्त्रीमा लाने सम्भावना छ ।
मंगलबार अपरान्ह ३ बजे मुख्यमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ । गठबन्धन दलहरू भने बिहानैदेखि मन्त्री छान्नका लागि व्यस्त देखिएका छन् ।


