केन्द्रीय सदस्यमा उम्मेदवारी दिने एमाले नेतृ उषाकला राईको घोषणा
खोटाङ, ३० कत्तिक ।एमाले नेतृ उषाकला राईले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । प्रदेश १ की पूर्वसामाजिक विकास मन्त्री राईले मंगलबार दिक्तेलमा आयाेजित पत्रकार सम्मेलनमा एमालेको केन्द्रीय कमिटी सदस्यमा उठ्ने घोषणा गरेकी हुन् ।
राईले १० देखि १२ मंसिरसम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा उठ्ने जानकारी दिएकी हुन् । जिल्लाका अन्य आकांक्षीले भने हालसम्म उम्मेदवारी घोषणा गरेका छैनन् । केन्द्रीय कमिटी सदस्यको उम्मेदवारीका विषयमा जिल्लाका नेतारूबीचमा थप छलफल गर्ने उनले बताएकी छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी नेतृ राई कोदोको लोकल रक्सीलाई व्याण्ड होईन ब्राण्ड बनाइनु पर्ने ‘व्याण्ड भर्सेस ब्राण्ड’का अभियानकर्ता हुन् । खोटाङबाट पहिलो महिला मन्त्रीको इतिहास रचेकी उषाकला २०६४ सालमा पनि संविधानसभा सदस्य बनेकी थिइन् । एमालेको राष्ट्रिय अधिवेशनमा खोटाङका १४ जना प्रतिनिधि सहभागी हुँदैछन् ।
४० वर्षपछि मणि केशवनारायणको नित्य पूजा थालियो
ललितपुर, ३० कात्तिक (रासस)ःपाटन दरबार सङ्ग्रहालय भित्र अवस्थित मणि केशवनारायण मन्दिरमा ४० वर्षपछि नित्य पूजा थालिएको छ ।विभिन्न कारणले स्थगित भइरहेको सो पूजा सोमबार हरिबोधनी एकादशीका दिनदेखि थालिएको हो । मणि छँ ब्राह्मण समूहका सहयोगमा नारायणको क्षमा पूजा र विष्णु रुद्री पाठनसहित दैनिक नित्य पूजाको प्रारम्भ गरिएको पुजारी माधवश्याम शर्माले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “मन्दिरको आयस्ता घट्दै गएपछि हरेक दिन पूजा चलाउन खर्च नभएकाले रोकिएको सुनिन्छ ।” सो एकतले गुम्बज शैलीमा निर्माण भएको मन्दिर पूजा गरिनाका साथै सर्वसाधारका लागि सङ्ग्रहालय खुल्ने समय खुला भएको उहाँको भनाइ छ ।
सो मल्लकालीन मन्दिर विसं १९९० को भूकम्पले भत्किएपछि मर्मत र सम्भार गरी राखिएको सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताउनुभयो । उहाँले भन्नुभयो, “यस मन्दिरमा १५आँै शताब्दीको नारायणको मूर्ति छ ।” सो नारायणको दायाँ लक्ष्मी र गरुडलाई समेत दर्शन गर्न पाइने उहाँले जानकारी दिनुभयो ।तत्कालीन राजा योगनरेन्द्र मल्लले सो नारायणसहित अन्य सात मणिगणेश, मणिचैत्य, मणिछँ, मणिभैरव, मणिमण्डप, मणिलिङ्गेश्वर र मङ्गहिटी अर्थात् मणिधारा नामक ८ मणि पाटनमा निर्माण गरी मणिगल क्षेत्र बनाएका बताइएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ मा सो मन्दिर अवस्थित छ ।
ललितपुर प्राचीन समयदेखि नै बास्तुकला एवं धर्मसंस्कृति केन्द्रका रुपमा विकास हुनाका साथै विभिन्न समयमा हुने पर्व अनि जात्राहरु आदि विविध पक्षका लागि प्रसिद्ध क्षेत्र हो । ललितपुर दरबारका प्रमुख अङ्गहरुमा तलेजु अनि द्घिमाजु मन्दिर, सुन्दरी अनि नासल तथा मूल र केशवनारायण चोक रहनाका साथै तुसा अनि लोहिटी र भण्डारखाल बगैँचा आदि समेत छन् ।
यसैगरी दरबारको पश्चिमी प्राङ्गणमा नेपाली छानेशैलीका हरिशङ्कर अनि चारनारायण तथा विश्वनाथका साथै भीमसेन मन्दिर र शिखर एवं गन्धकूट शैलीका नरसिंह मन्दिरसमेत रहेको छ । सो मन्दिरअगाडि ‘कात्तिक डबली’ मा गत बुधबारदेखि वियोगान्त कथामा आधारित कात्तिक नाट्य महोत्सव मञ्चन भइरहेको छ । ललितपुरका युपग्राम अनि यल तथा मणिगल र ललितपुरी आदि प्राचीन नाम हुन् । ललितपुरमा किरातको राजदरबार थियो भन्ने किंवदन्तीे छ ।


