नाचगान गरेर शिक्षकलाई तलब भत्ता

म्याग्दी, ३० फागुन । धौलागिरि गाउँपालिका–१ गुर्जाका बासिन्दाले नाचगान गरेर शिक्षकको तलब भत्ता जुटाउने गरेका छन् । जनकल्याण माविका निजी स्रोतका शिक्षकको तलव र तल्लो तहको दरबन्दी भए पनि माथिल्लो तहमा अध्यापन गराउने शिक्षकको भत्ता नाचगान गरेर जुटाउने गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुनराम छन्त्यालले गाउँमा विदेशबाट आउने ‘लाहुरे’लाई स्वागत, विवाह, छेवार, गुन्युचोली देखाउने, किरिया, चौरासी पुजामा नाचगान गरेर शिक्षकको तलवभत्ता जुटाउने गरिएको जानकारी दिनुभयो ।
“निजी स्रोतका शिक्षकको तलब भत्ताका लागि वार्षिक रु नौ लाख आवश्यक पर्छ”, उहाँले भन्नुभयो, “सो रकम जुटाउन शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घले नाचगान गर्छांै ।” विसं २०६८ देखि मावि तह सञ्चालन भएको विद्यालयमा दुई÷दुई जना बालशिक्षा सहयोगी कार्यकर्ता र कार्यालय सहयोगीसहित १५ जना शिक्षक कर्मचारी छन् । मावि तहमा एक जना पुर्ण र चार आंशिक निजी स्रोतका शिक्षक रहेका प्रअ न्याउली छन्त्यालले बताउनुभयो ।

“विसं २०७६ सम्म चार जना पूर्ण निजी स्रोतका शिक्षकका लागि वार्षिक रु १४ लाख खर्च जुटाउनु पर्दथ्यो”, उहाँले भन्नुभयो, “दुई वर्षदेखि गाउँपालिकाले दुई जना शिक्षकको अनुदान र एक जना दरबन्दी मिलान गरेर पठाएपछि केही सहज भए पनि नाचगान गरेर आर्थिक स्रोत जुटाउनुपर्ने बाध्यता पूर्णरुपमा हटेको छैन ।” नाचगानका अतिरिक्त विद्यालय सञ्चालनका लागि विकास योजनामा काम गरेर ज्यालाबापत पाउने रकमसमेत उपलब्ध गराउने गरिएको शिक्षक अभिभावक सङ्घका अध्यक्ष गोर्खा छन्त्यालले बताउनुभयो । गुर्जामा अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको मात्र बसोबास छ । कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा करिब ३०० विद्यार्थी छन् ।

सो विद्यालय गुर्जाको एकमात्र विद्यालय हो । गुर्जा भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्छ । छिमेकी वडा लुलाङबाट तीन हजार मिटर उचाइको देउराली धुरी छिचोलेर पूरै दिन हिँडेपछि गुर्जा पुग्न सकिन्छ । सडक यातायातको सुविधा छैन । भौगोलिक विकटताका कारण गाउँ बाहिरका शिक्षक आउन नमान्ने र आए पनि छिट्टै सरुवा भएर जाने समस्या छ । शिक्षकलाई आकर्षित गराउन गाउँ बाहिरका शिक्षकलाई विद्यालयले आवासीय सुविधा दिएको छ । गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले गुर्जालाई दुर्गम र विशेष क्षेत्र घोषणा गरेर विकास आयोजनाको दररेट र शिक्षक कर्मचारीलाई अतिरित्त सुविधाको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

कलाकार कल्याणकारी कोष स्थापना
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, म्याग्दी शाखाले कलाकार कल्याणकारी कोष स्थापना गरेको छ । प्रतिष्ठानको २१ औँ स्थापना दिवस तथा लोकदोहोरी दिवस २०७८ को अवसरमा रु एक लाख ५० हजारको कोष स्थापना गरिएको हो । प्रतिष्ठानका सचिव पदम विश्वकर्माले कोषबाट अप्ठ्यारोमा परेका कलाकारलाई सहयोग गरिने जानकारी दिनुभयोे ।
“प्रतिष्ठानका पदाधिकारी, सदस्य र दाताको सहयोगमा कोष बनाएका हौँ”, उहाँले भन्नुभयो, “जटिल रोगबाट थलिएका कलाकारको उपचार, दुर्घटना, विपद्बाट प्रभावित भएको अवस्थामा सहयोग गर्छौं ।”

यसैगरी प्रतिष्ठानले आइतबार बेनी नगरपालिका–८ स्थित कृष्ण गण्डकी ज्येष्ठ नागरिक सेवा केन्द्रलाई मादल र खैजडी सहयोग गरेको छ । प्रतिष्ठानका संस्थापक केन्द्रीय सदस्य अग्रज लोक गायिका धनकुमारी थापा, सल्लाकार जीवनकुमार विश्वकर्मा र जिल्ला अध्यक्ष देवेन्द्र घिमिरेले केन्द्रका अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठ र उपाध्यक्ष नैनकुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको होे । ज्येष्ठ नागरिकलाई भजनकीर्तन तथा साङ्गीतिक कार्यक्रम सञ्चालनमा सहयोग पुगोस् भनेर वाद्यवादनका सामग्री प्रदान गरिएको उहाँले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।