छात्राहरु भन्छन्ः ‘स्कुल छुटाउन कसलाई पो मन हुन्थ्यो’

लक्ष्मी भण्डारी/वीरेन्द्रनगर, ३० चैत (रासस) ः सूर्यज्योति माविका छात्रा प्रमिला उपाध्यायले महिनावारीको समयमा विद्यालय अनियमित हुनुहुन्थ्यो ।

महिनावारीका बेला पेट दुख्ने समस्याका कारण उहाँ नियमित रुपमा कक्षामा बस्न सक्दैनथें । तर, आजभोलि उहाँ महिनावारी भएको बेला पनि नियमित कक्षामा बस्नुहुन्छ । “गाह्रो भएको केही बेर आराम गर्छाैं, अनि कक्षामा सहभागी हुन्छौँ”, प्रमिलाले भन्नुभयो, “विद्यालयमा महिनावारीको समयमा आराम गर्ने बेड र सेनेटरी प्याड भएपछि हामीलाई सजिलो भएको छ ।”

गुर्भाकोट आनन्द मावि गुमीका छात्रा निशा बुचा महिनावारीका समयमा नियमित विद्यालयमा आउन सक्नुभएको थिएन । महिनावारीको समयमा पेट दुख्नुको साथै बेन्चमा लामो समयसम्म बस्न समस्या हुन्थ्यो । “स्कुल छुटाउन त कस्लाई पो मन हुन्छ र”, उहाँले भन्नुभयो, “विद्यालयमा आराम गर्ने ठाउँ हुन्थेन । अनि महिनाको तीन चार दिन विद्यालय आउँदैनथ्यौँ ।”

उहाँ मात्रै होइन, महिनावारीका समयमा निशाजस्तै गुर्भाकोट नगरका छात्राहरु अनियमित हुन्थे । जसका कारण उनीहरुको पढाइ छुट्थ्यो । कहिलेकाहीँ त विद्यालयमै भएको अवस्थामा महिनावारी भयो भने विद्यालयमा प्याड नहुँदा हतारहतार घरमा फर्कनुपर्ने बाध्यता हुन्थ्यो । बेन्चमा लाग्ने हो की कसैले कपडामा लागेको देख्ला भन्ने डर उनीहरुको मनमा हुन्थ्यो तर, अहिले नगरका सबै छात्राहरु महिनावारीका समयमा विद्यालयमा नियमित हुन्छन् ।

अहिले महिनावारी समस्याका कारण कुनै पनि किशोरीहरु विद्यालयमा अनियमित हुनुपर्दैन । विद्यालयमा आरामको लागि बेड र सेनेटरी प्याडको व्यवस्था भएपछि उनीहरु नियमित हुन थालेका हुन् । आनन्द माध्यमिक विद्यालयमा उहाँहरुका लागि चारवटा बेड राखिएको छ । त्यसैगरी विद्यालयमा छात्राको लागि प्याडको पनि व्यवस्था गरिएको छ ।

“गाह्रो हुँदा केहीबेर आराम गरेर फेरि कक्षा कोठामै फर्कन्छौँ”, विद्यालयमा अध्ययनरत छात्रा निशाले भन्नुभयो, “महिनावारी हुँदा अहिले त नियमित विद्यालय आउँछौँ ।” विद्यालयका प्रध्यानाध्यापक धनपति ढकालले ‘बेडरेष्ट’ कक्षा स्थापनासँगै कुनै पनि किशोरीहरु विद्यालय छोडेर घर जानुपर्ने अवस्था नआएको बताउनुभयो । “विद्यालयमा कक्षा ६ देखि १२ सम्म २०० बढी किशोरीहरु छन् । महिनावारी हुँदा प्रायः किशोरी विद्यालयमा आउँदैनथे र आए पनि हाजिर लगाएर फर्किन्थे”, उहाँले भन्नुभयो, “अहिले महिनावारीका कारण कुनै पनि छात्राले विद्यालय छोड्नुपर्ने अवस्था आएको छैन ।”

महिनावारीको समयमा छात्रालाई नियमित गराउनका लागि गुर्भाकोट नगरपालिकाले ‘बेड रेष्ट’ कार्यक्रम सञ्चालन गरेको हो । नगरकार्यपालिकाको निर्णयानुसार नगरपालिकाले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो । सुरुआतमा नगरपालिकाले आनन्द माध्यमिक गुमीमा परीक्षणको रुपमा यो कार्यक्रम सञ्चालनमा ल्याएको थियो । पछि यहाँका २२ वटै विद्यालयमा यो कार्यक्रम लागू गरेको छ । कार्यक्रमअनुसार सो विद्यालयको एउटा कोठामा महिनावारीको समयमा छात्रालाई आरामको लागि पाँच वटा बेड राखिएको छ । त्यसैगरी विद्यालयमा सेनेटरी प्याडको पनि व्यवस्था गरिएको छ ।

‘बेड रेष्ट’ कार्यक्रमले राम्रो प्रभाव पारेको नगरप्रमुख हस्त पुनले बताउनुभयो । यसले गर्दा छात्राहरु नियमित विद्यालय आउन थालेको उहाँले बताउनुभयो । महिनावारीको समयमा किशोरीलाई विद्यालयमा नियमित गराई उनीहरुको सिकाइ उपलब्धिमा वृद्धि गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याइएको गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना विकले बताउनुभयो । “महिनावारीको समयमा किशोरीहरुको विद्यालय नियमित नभएकाले ‘बेड रेष्ट’ कार्यक्रम सञ्चालनमा ल्याएका हौँ”, उहाँले भन्नुभयो, “यस्तो समयमा किशोरीहरु विद्यालयमा नआउने र आए पनि बीचमै कक्षा छोडेर जाने प्रवृत्ति देखिएको थियो ।” त्यसैगरी महिनावारी भएको बेलामा किशोरी चार÷पाँच दिनसम्म विद्यालयमा नियमित उपस्थित नभएको कारण पनि उनीहरुको पठनपाठनमा समेत बाधा पर्दै आएको उहाँको भनाइ छ ।

“नगरभित्रका विद्यालयमा छात्र र छात्राको सिकाइ उपलब्धिलाई अध्ययन गर्दा छात्राको कम पाइयो । यसको समस्या खोतल्दै जाँदा महिनावारीको समयमा नियमित विद्यालयमा नआउनु रहेछ”, उपप्रमुख विकले भन्नुभयो, “छात्राको सिकाइ उपलब्धि कम देखिनुका कारण बारेमा अध्ययन गर्दा महिनावारी समस्या भएकाले यसको समाधानका लागि अभियान थालेका हौँ ।” नगरका २२ वटा विद्यालयमा ‘बेड रेष्ट’ कार्यक्रम सञ्चालन गरी छात्रालाई विद्यालयमा नियमित गराउने कार्यक्रमसमेत तय गरिएको उपप्रमुख विकको भनाइ छ ।
“महिनावारीको समयमा तल्लो पेट दुख्ने समस्या हुन्छ र जसले गर्दा पठनपाठनमा बाधा पुग्छ”, उहाँले भन्नुभयो, “विद्यालयमा भएको बेला यस्तो समस्या भएमा किशोरीलाई केही समय विद्यालयमा राखिएको बेडमा आराम गरेर पठनपाठनका लागि सहयोग पुग्नेछ ।” त्यस्तै यहाँका प्रत्येक विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराइएको छ । यसैगरी हरेक विद्यालयमा एकजना महिला शिक्षकलाई स्रोत व्यक्तिका रुपमा जिम्मेवारी दिएर महिनावारीको समयमा किशोरीलाई सेनेटरी प्याडको प्रयोग र परामर्श दिने व्यवस्थासमेत गरिने उपप्रमुख मैनाले बताउनुभयो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।