जनतामा एमालेको ठूलो प्रभाव छ – उपाध्यक्ष ज्ञवाली
राँझा, ३१ साउन ।नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेको बताउनु भएको छ ।नेकपा एमाले बाँकेले आज कोहलपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेकाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एमाले आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने तयारीमा छ भन्नुभयो ।
स्थानीय तहको निर्वाचनमा हासिल गरेको मतले एमाले अहिले पनि ठूलो दल भएको दाबी गर्दै उहाँले भन्नुभयो, “नीति, सिद्धान्त, विचार र पार्टीको सरकारले गरेका कामहरुले एमाले विजयी हुने बलियो आधार छ ।” एमालेलाई सबै दल मिलेर घेराबन्दी गरे पनि उनीहरुको लक्ष्य प्राप्त हुन नसक्ने नेता ज्ञवालीले बताउनुभयो ।
सङ्क्रमितलाई औषधिले सहज
रामपुर (पाल्पा), ३१ साउन ।एचआइभी सङ्क्रमितलाई दृष्टिगत गरी रामपुर अस्पतालले औषधि उपलब्ध गराउन थालेपछि सङ्क्रमितलाई निकै राहत मिलेको छ । नियमित औषधि सेवन गर्न अन्यत्र जानुपर्ने समस्याले झन्झट र खर्चिलो भएपछि रामपुरबाटै सेवा सुरु गरिएको हो ।
हाल यस अस्पतालबाट नियमित औषधि सेवन, परामर्श सेवा र परीक्षण सेवा दिइएको छ । यसभन्दा अघि सदरमुकाम तानसेनस्थित युनाइटेड मिसन अस्पतालबाट मात्रै नियमित औषधि उपलब्ध हुँदै आएको थियो । बिरामीलाई सहज सेवा दिने उद्देश्यले २०७८ फागुनबाट रामपुर अस्पतालले सङ्क्रमितलाई औषधि वितरण सेवा सुरु गरेको हो । अहिले अस्पताललाई कार्यक्षेत्र बनाएर करिब एक सय २० जना सङ्क्रमित सम्पर्कमा आएको अस्पताल प्रमुख नेत्रनारायण पोखरेल बताउनुहुन्छ ।
रामपुरकी ३२ वर्षीया एक युवतीले रामपुर अस्पतालबाटै एचआइभी एड्सको नियमित औषधि तथा परामर्श सुविधा पाएपछि सदरमुकाम तानसेन धाउनुपर्ने समस्या टरेको बताउनुहुन्छ । दुई वर्ष अघिदेखि उहाँले युनाइटेड मिसन अस्पतालबाट नियमित रुपमा औषधि सेवन तथा परामर्श सेवा लिँदै आउनुभएको थियो । उहाँसहित परिवारका चारजना सदस्य एचआइभी सङ्क्रमित हुनुहुन्छ । नियमित खाने औषधि र परामर्श सेवाका लागि तानसेन आवतजावत गर्न खर्चिलो तथा झमेला हुन्थ्यो । अहिले भने गाउँमै रहेको रामपुर अस्पतालबाट सेवा दिन थालेपछि सहज भएको उनीहरु बताउँछन् ।
एचआइभी सङ्क्रमण भयो भन्दैमा आत्तिनुपर्ने अवस्था नरहेको र नियमित औषधि सेवन, स्वास्थ्यकर्मीसँग परामर्श सेवा लिँदै आत्मबल बलियो बनाइयो भने अरू व्यक्ति सरह नै बाँच्न सकिने सङ्क्रमितहरु आफ्नो अनुभव बताउँछन् । यस क्षेत्रमा एचआइभी सङ्क्रमितका लागि नियमित खाने औषधिको सेवा नहुँदा युनाइटेड मिसन अस्पताल, पोखरा लगायतका क्षेत्रमा पुगेर बिरामीले सेवा लिँदै आएका थिए । उनीहरुलाई स्थानीयस्तरमा नै रहेको अस्पतालबाट सेवा दिनुपर्ने भन्ने मनसायले सेवा दिन थालिएको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल बताउनुहुन्छ । पछिल्लो समय नियमित औषधि सेवन, स्वास्थ्यकर्मीको सम्पर्कमा रही परामर्श सेवा लिने बिस्तारै बढ्दैछन् ।


