विकासले फेरियो कुस्मिसेराको मुहार

गलकोट, २४ असार (रासस) :तीन वर्षअघिसम्म बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा बजारको बीच सडकबाट सिँचाइको कुलो बग्दथ्यो । सडकमा नाली नहुँदा सिचाँइका लागिसमेत बजारको बीच सडक नै प्रयोग गर्ने अवस्थाले बजारको सौन्दर्यतालाई गिज्याउँथ्यो ।

यस क्षेत्रमा उर्भर खेतीयोग्य जमिन भए पनि सङ्घीयता आएसँगै जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा भइसकेपछि अहिले यहाँ तीव्र सहरीकरण भइरहेको छ । ‘अन्नको भण्डार’का रुपमा रहेको उक्त खेतको फाँटमा पक्की भवन धमाधम निर्माण भए पनि बजारको सडक भने सुधार हुन सकेको थिएन ।

बर्खामा बजारभित्रकै सडक हिलाम्मे र हिउँदामा धुलाम्मे हुने अवस्थाको यही वर्षदेखि अन्त्य भएको छ । यही वर्ष बजार क्षेत्रको सबै सडक कालोपत्र र ढलान सम्पन्न भइसकेको जैमिनी नगरपालिकाले जानकारी दिएको छ ।

कुश्मिसेरा बजारमा तीन वर्षदेखि थालिएको सडक ढलान र कालोपत्र सकिएपछि बजारको मुहार फेरिएको स्थानीय पुनेन्द्र सापकोटाले बताउनुभयो । “चार वर्षअघिसम्म सडकमा नालीसमेत थिएन, बजार मात्रै भएर के गर्ने रु बर्खामा सडकबाटै सिँचाइका लागि कुलो लैजानु पर्दथ्यो”, उहाँले भन्नुभयो, “पछिल्लो तीन वर्षयता कुस्मिसेरा बजार परिवर्तन भएको छ, अहिले एकातर्फ सडकको नाली र अर्कोतर्फ सिँचाइको लागि प्रयोग गर्ने नाली बनाइएको छ । कालोपत्र र ढलानले सडकका खल्डाखुल्डी सबै पुरिएका छन् ।”

बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकका कारण व्यवसायी तथा यात्रुलाई सास्ती भएकामा अब भने सहज हुने समपकोटाको भनाइ थियो । अहिले कुस्मिसेराका भिरालो स्थानमा ढलान र समथर सडकमा कालोपत्र गर्दा यात्रुलाई सहज हुनुका साथै सौन्दर्यकरण थप भएको उहाँले बताउनुभयो ।

कुस्मिसेरा बजारमा छ सय ६० मिटर सडक कालोपत्र गरिएको र एक किमी सडक ढलान गरिएको नगरपालिकाका इञ्जिनियर विवेक सापकोटाले जानकारी दिनुभयो । “पालिकाको केन्द्र सुधार हुन आवश्यक थियो । अहिले मुख्य सडकमा कालोपत्र र ढलान भएको छ, केही शाखा सडक बाँकी छन्”, उहाँले भन्नुभयो, “कालोपत्रभन्दा ढलान सडक धेरै खर्चिलो र पक्का हुने भएकाले ढलान सडक लामो समयसम्म टिक्ने अपेक्षा छ ।”

इञ्जिनियर सापकोटाका अनुसार रू एक करोड ९७ लाखमा कुस्मिसेरा बजारको सडक पक्की बनाइएको हो । जसमध्ये चालु आर्थिक वर्षमा पाँच सय मिटर सडक ढलान र एक सय ३० मिटर सडक कालोपत्र गरिएको छ ।

कुस्मिसेरा बजारको सबै सडक कालोपत्र र ढलान गरिएको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । “कुस्मिसेरा बजारको मुख्य क्षेत्रमा कालोपत्र तथा ढलान सम्पन्न भएको छ । यसले बजार क्षेत्रको सौन्दर्यकरण गरेको छ”, उहाँले भन्नुभयो ।

सहरी विकास मन्त्रालयबाट गत वर्ष रू ४५ लाख र चालु आर्थिक वर्षमा रू ९७ लाख बजेट विनियोजना भएको जनाउँदै उहाँले नगरपालिकाको तिरन्तर पहलकदमीबाट पक्की सडक निर्माण सम्पन्न भएको उपप्रमुख शर्माले बताउनुभयो । उहाँका अनुसार बाँकी रकम नगरपालिकाले छुट्याएको थियो । “अब नगरपालिकाको ध्यान वडास्तरीय सडक सुधारमा हुनेछ”, उहाँले भन्नुभयो ।

उपप्रमुख शर्माका अनुसार बागलुङ बजार बाट कुस्मिसेरा पुग्न दुई किलोमिटर सडक मात्रै कच्ची रहेको छ । सडक कालोपत्र भएपछि एक घण्टामै बागलुङ बजारबाट कुस्मिसेरा पुग्न सकिने भएपछि स्थानीय खुसी भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।