ज्येष्ठ नागरिक भन्छन्,“भत्ता नै बुढेसकालको सहारा”

तनहुँ ९ साउन (रासस) :“कान्छो छोरा अमृत चितौन बस्छ, सधैँ उतै बस्न जाम आमा भनेर हत्ते ग¥यो र गएँ पनि,” भानु नगरपालिका–१३ पोखरी छापकी ७२ वर्षीया धनमाया गुरुङले भन्नुभयो, “तर झलझली गाउँको हावापानी सम्झिएँ, बस्नै सकिन र मेरै भत्ताले पालिन्छु भनेर गाउँ फर्किएँ ।” भानु नगरपालिका–१३ को कार्यालयमा ज्येष्ठ नागरिक भत्ता नवीकरण गर्न स्वयं उपस्थित हुने क्रममा धनमायाले दुईवर्ष पहिलेको अनुभव सुनाउनुभएको हो ।

उहाँजस्तै अन्य ज्येष्ठ नागरिकले समेत ज्येष्ठ नागरिक भत्ता आफूहरुको बुढेसकालको दिगो सहारा भएको बताए । छोरासँगै बस्न भनेर दुई वर्ष पहिले भरतपुर गए पनि एक महिना बस्दैमा आत्तिएर गाउँ फर्किएको धनमायाको अनुभव छ । प्रचण्ड गर्मी र पानीको नमिठो स्वादले अत्तिएर गाउँ फर्किएको उहाँले जानकारी दिनुभयो ।

“रातभरी पङ्खा लगाए पनि बानी नपरेकाले चितवनमा तातो हावाले गर्दा सुत्नै नसकेर खुबै आत्तिए,’ धनमायाले भन्नुभयो, “गाउँमा भने पङ्खा नै चाहिदैन । अहिले पनि कम्बल ओडेर सुत्ने गर्छौँ ।” म्याग्दे गाउँपालिका–६ की ७३ वर्षीया राममाया परियारले आफ्ना तीन छोराले बेवास्ता गरेपछि आफू राज्यले दिने भत्ताकै भरमा एक्लै बस्दै आएको गुनासो गर्नुभयो ।

उहाँको श्रीमान् तिलबहादुरको ७५ वर्षको उमेरमा दुई वर्ष पहिले मृत्यु भएको थियोे । विवाह भइसकेका तीन छोरीले आफूहरुसँग बस्न भनेपनि एक्लै बसेर बाँकी जीवान धानेको परियारको भनाइ थियो । ‘श्रीमान् खसेपछि छोराहरुले वास्ता नै गरेनन् । छोरीहरुले हामी पाल्छौँ भनेर हत्ते गरेपनि बुढाको चिनो घर छाड्न मनले मानेन,’ उहाँले भन्नुभयो, “त्यसैले भत्ताकै भरमा धानिँदै आएकी छु ।”

आफू र श्रीमती शिरमायालाई ज्येष्ठ नागरिक भत्ताले ठूलो राहत मिलेको म्याग्दे गाउँपालिका–४ का ७६ वर्षीय नरबहादुर थापामगरले बताउनुभयो । दुई छोराले थर्पु बँेसीमा घर बनाएर बसेपनि आफूहरुले मूल घर नछाडेको उहाँले जानकारी दिनुभयो । “भत्ताले गर्दा बुढाबुढीले भनेजस्तो खाएकै छौँ । मन परेको लाएकै छौंँ ” नरबहादुरले भन्नुभयो, “हामी बुढाबुढीलाई भत्ता नै ठूलो सहारा भएको छ ।”

म्याग्दे–४ थर्पुस्थित ज्योति विकास बैंकमा सोमबार भेटिएका नरबहादुर दम्पत्तिले राज्यले भत्ता नदिए जीवन धान्न सास्ती पर्नेसमेत बनाउनुभयो । घरबाट करिब एक घण्टाको बाटो सवारीसाधनमा आउनुपर्दा आफूहरुलाई सास्ती भएको र राज्यले ज्येष्ठ नागरिक र अशक्तलाई घरमै पुगेर रकम दिने व्यवस्था गर्नुपर्नेमा नरबहादुरले जोड दिनुभयो ।

आफूले पाउँदै आएको भत्ता रकमसमेत घरखर्च र परिवारको औषधि उपचारमा खर्च गर्दै आएको म्याग्दे– २ थुम्कीबाट भत्ता लिन बैंकमा आउनुभएकी ७३ बर्षीया जुठी कामीको भनाइ थियो । दुई छोरीको विवाह भइसकेको र एक छोरा ५७ बर्षीय धनसिं रोगी भएको जुठीले बताउनुभयो । “यो पैसा निकालेपछि भोलि नै छोरालाई लिएर जचाउन पोखरा जाने विचारमा छु,’ श्रीमान् तिलबहादुरको १०÷११ वर्ष पहिले मृत्यु भएको बताउँदै उहाँले भन्नुभयो, “भत्ता रकम नपाइदो हो त हामी गरिब त्यसै मर्ने थियौंँ । यही रकमले औषध उपचार पनि गर्न पाईएको छ ।”

राज्यले दिने भत्ता रकम गाउँ घरमै दिने व्यवस्था गरे आफूहरुले घण्टौँ हिँडेर आउन नपर्ने जुठीले बताउनुभयो । राज्यले ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई मासिक रु चार हजार , ६० वर्ष उमेर कटेका दलित ज्येष्ठ नागरिक र कर्णाली प्रदेशकालाई मासिक रु दुई हजार छ सय ६०, एकल महिला र विधुवालाई मासिक रु दुई हजार ६६०, पूर्ण अपाङ्गता भएकालाई मासिक रु तीन हजार नौ सय ९०, अतिअशक्त अपाङ्गता भएकालाई रु दुई हजार एक सय २८ र लोपोन्मुख आदिवासी जनजातिलाई मासिक रु तीन हजार नौ सय ९० र दलित बालबालिकालाई मासिक रु पाँच सय ३२ राज्यले उपलव्ध गराउँदै आएको छ । प्रत्येक तीन महिनामा राज्यले बैंकमा भत्ता रकम उपलव्ध गराउने गर्दछ । सामाजिक सुरक्षाभत्ता वितरण कार्यविधिअनुसार साउन महिनामा नवीकरण गरिसक्नुपर्ने गरी राज्यले सूचना प्रवाह गरिसकेको स्थानीय पालिकाहरुले जनाए ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।