हलेसी तुवाचुङमा विपन्नलाई दिन ल्याइएको सोलार प्यानल नगर प्रमुखका भाइले आफन्तलाई बाँडेपछि…

खोटाङ (रासस) : हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका विपन्न परिवारका लागि निःशुल्क वितरण गर्न ल्याइएको सोलार प्यानल नगर प्रमुखको भाइ रोजचन्द्र राईले आफूखुसी आफ्ना नजिकका आफन्तलाई मात्र वितरण गरेपछि आलोचना शुरु भएको छ ।

नगर प्रमुख विमला राईले यही साउन ३ गते नगरपालिकाबाट आफ्नै गाडीमा हालेर वडा कार्यालय पु¥याउनुभएको २२ थान सोलार प्यानल सोही दिन उहाँका कान्छा भाइ रोजचन्द्रले वडाध्यक्षलाई समेत जानकारी नदिई आफ्नो टोलका आफन्तलाई मात्र वितरण गरेपछि आलोचना सुरु भएको हो ।

वडामा आउने योजनामा निर्वाचित वडाध्यक्षको अधिकारमाथि नै हस्तक्षेप गरेर नगर प्रमुखका भाइले निर्वाचित वडाध्यक्षको अपमान गरेको वडाध्यक्ष भूपालसिं राईले गुनासो गर्नुभएको छ । “म च्यास्मिटारका जनताले दिएको मतले निर्वाचित भएको वडाध्यक्ष हो । वडामा हुने हरेक गतिविधि मसँग जोडिन्छ । त्यसको जस वा अपजस मैले नै लिनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “नगर प्रमुखको भाइ भएकै आधारमा वडामा आएको योजनामा हस्तक्षेप गर्नु उचित होइन । यसले राम्रो सन्देश गएको छैन । आगामी दिनमा पनि यस्तो हर्कत दोहोरिए सहेर बस्दिनँ ।”

च्यास्मिटारको साविक नौवटै वडाका विपन्न परिवारका लागि भनेर खरिद गरिएको सोलार प्यानल नगर प्रमुख राईका भाइ रोजचन्द्रले साविकको तीनवटा वडामा मात्र आफूखुसी वितरण गरेको पाइएको छ । साविकको वडा नं ६ भाग्रामा १५, वडा नं ३ सार्पामा पाँच र वडा नं ४ दाल्फुमा दुईवटा वितरण गरेको पाइएको हो ।

विपन्न परिवारका लागि खरिद गरिएको सोलार प्यानल वडामा ल्याउनुअघि च्यास्मिटारका लागि ११ वटा कोटा रहेको नगरपालिकाको जिन्सी शाखाबाट जानकारी आएको समेत वडाध्यक्ष राईले बताउनुभएको छ । “विपन्न परिवारका लागि वितरण गर्न भनेर गत असारमै सोलार प्यानल खरिद गरिएको थियो । वडामा ल्याएर वितरण गर्न केही ढिला भएको थियो । सोही अवस्थामा नगर प्रमुख विमला राईज्यूले म आफ्नै गाडीमा हालेर ल्याइदिन्छु है भन्नुभयो । मैले हुन्छ भनेँ”, उहाँले भन्नुभयो, “सोलार प्यानल लिएर नगर प्रमुख वडा कार्यालयमा आउनुअघि नै उहाँका कान्छा भाइ रोजचन्द्रलगायतका साथीहरू भेला भएर बसेका रहेछन् । गाडीबाट झार्न नै नपाई डोकोमा हालेर लान थालेपछि कुनै प्रतिक्रिया नजनाई घर फर्किएँ ।”

नगर प्रमुख राईका भाइ रोजचन्द्रले भने नगरपालिकाले उपलब्ध गराएको सोलार प्यानल आवश्यकताका आधारमा वडा कार्यालयका कर्मचारीलाई नै रोहबरमा विपन्न परिवारका लागि वितरण गरेको बताउनुभएको छ । “यसअघिका कार्यक्रममा वडाध्यक्षज्यूबाट धेरै अनियमितता भएका छन् । हामी पनि यही वडाका नागरिक हौँ । वडामा आउने योजना हाम्रै लागि आएको हो”, उहाँले भन्नुभयो, “सोलार प्यानल वितरणमा प्रक्रिया मिचियो होला, यसमा मेरो कमजोरी भयो भने, स्वीकार गर्न म तयार छु, तर, पाउनुपर्ने व्यक्तिलाई उनीहरूको सबै विवरण राखेर वितरण गरिएको छ । वडाध्यक्षज्यूले यसअघि गर्नुभएको जस्तो अनियमितता भएको छैन ।”

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका विपन्न परिवारका लागि कोशी प्रदेशका तत्कालीन ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री रामकुमार राई ‘पासाङ’को पालामा सोलार प्यानल उपलब्ध गराउने गरी योजना परेको थियो । केन्द्रीय प्रसारण लाइनको विद्युत् नपुगेका ठाउँमा बसोबास गर्ने विपन्न परिवारका लागि २० किलोवाट क्षमताको सोलार प्यानल उपलब्ध गराएर उज्यालो दिने गरी उक्त नगरपालिकाका ११ वटै वडाका लागि योजना पारिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।