काठमाडौंमा दिनभरि मौसम खुल्ने सम्भावना छैन
काठमाडौ । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार यतिबेला (बिहीबार बिहान ७ बजे) गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ ।
‘रातिदेखि नै वर्षा भइरहेको छ’, उनले भने, ‘काठमाडौं उपत्यकामा चाहिँ आज बिहान ३ बजेदेखि पानी परिरहेको छ।’
उनका अनुसार काठमाडौंमा उपत्यकामा जारी झरी तत्काल रोकिने सम्भावना देखिएको छैन । ‘दिउँसो केही बेर रोकिए पनि साँझतिर फेरि पानी पर्ने सम्भावना देखिएको छ’, मौसमविद् पौडेलले भने, ‘काठमाडौं उपत्यकामा आज त्यस्तो ठूलो वर्षाको सम्भावना त छैन तर झरी परिराख्ने सम्भावना छ, आज दिनभर मौसम खुल्ने सम्भावना देखिन्न ।’
मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।
यसैगरी राति पनि सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले आफ्नो पूर्वानुमान बुलेटिनमा उल्लेख गरेको छ ।


