केर्खामा रात्रिबसले ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु
झापा । केर्खामा रात्रिबसले ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा कमल-३ का मनोज लिम्बुकी अन्दाजी १२ वर्षीया छोरी कृपा लिम्बु र उनका हजुरबुबा रहेका छन्। ती बालिकाको जन्मदिन मनाउन हजुरबुबाले उनलाई केक लिन लगेका थिए। केक र मासु लिएर घर फर्कँदै गर्दा बसले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो। ठक्कर पछि केक र मासु सडकभरि छरपस्ट भएको थियो भने साइकल पूर्णरूपमा क्षतिग्रस्त भएको छ।
घटनापछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् र चालक नआएसम्म शव नउठाउने अडानमा छन्। उनीहरूले राजमार्ग अवरुद्ध गरेका छन्, जसका कारण सवारीसाधनको लामो लाइन लागेको छ। प्रहरीका अनुसार पूर्वबाट काठमाडौँ जाँदै गरेको बसले साँझ केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिएको हो। मृतकहरूको पूर्ण नाम खुल्न बाँकी रहेको छ।
भीडले ठक्कर दिने बसलाई तोडफोड गरेको छ र प्रहरी चौकी केर्खामा राखिएको बसलाई आगजनी गर्ने प्रयास समेत भएको छ। आक्रोशित स्थानीयहरूले ढुंगामुढा समेत गरेका छन्। घटनास्थलमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने राजमार्ग अझै अवरुद्ध छ।-झापाटुडे


