हुण्डी कारोबारमा काठमाडौं प्रहरीको आक्रामक कारबाही, गौशालाका डिएसपी खनाल ‘नायक’

काठमाडौं- काठमाडौंमा हुण्डी कारोबारमाथि प्रहरीले आक्रामक कारबाही चलाएको छ।

यसक्रममा प्रहरीले दुई दिनमा ९४ लाख ५० हजार नगदसहित हुण्डी कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ।

प्रहरीले मंगलबार राति काठमाडौं महानगरपालिका-९ सिनामंगल शम्भुमार्गस्थित सडकबाट स्रोत नखुलेको नगद ६८ लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ।

भोलिपल्ट बुधबार दिउँसो साढे २ बजे काठमाडौं महानगरपालिका-९ बत्तीसपुतलीबाट प्रहरीले साढे २६ लाख रुपैयाँ स्रोत नखुलेको रकम बरामद गरेको छ।

मंगलबार राति पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका-७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका-७ घर भएका ३२ वर्षीय प्रवेशकुमार पौडेल र झापा विर्तामोड नगरपालिका-५ घर भएका २७ वर्षीय युवराज सुवेदी रहेका छन्।

प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक सुकदेव खनाल नेतृत्वको प्रहरी टोलीले प्रदेश-३-०१-०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई स्रोत नखुलेको नगदसहित पक्राउ गरेको थियो।
भोलिपल्ट काठमाडौं-९ बत्तीसपुतलीबाट स्रोत नखुलेको २६ लाख ५० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ पर्नेमा गुल्मी तम्घास नगरपालिका वडा नम्बर ४ घर भएका ५२ वर्षीय भेषराज पाण्डे छन्। उनी बत्तीसपुतलीमा श्री बालाजी इम्पोर्ट प्रालि नामक कम्पनीका सञ्चालक हुन्।

प्रहरी नायब उपरीक्षक खनाल र परिसरको टोलीले कम्पनीमा छापा मार्दा भारतीय नागरिक ५२ वर्षीय बस्नतकुमार राठी, काठमाडौं-१ कमलपोखरीका ३५ वर्षीय प्रनिश थापा र काठमाडौं-१६ का ५२ वर्षीय सुरेश अधिकारी रहेका छन्।

उनीहरू उक्त कम्पनीमा शंकास्पद गतिविधि गरिरहेका थिए। सूचना पछ्याउँदै गएको प्रहरी टोलीले उनीहरूलाई नगदसहित पक्राउ गरेको  परिसर प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताए।
पक्राउ परेकामाथि आवश्यक बैंकिङ कसुर तथा सम्पत्ति शुद्धीकरण ऐन अनुसार अनुसन्धान थालिएको छ।

यी दुबै कारबाहीमा गौशालाका प्रहरी नायब उपरीक्षक (डिएसपी) खनालले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। 
स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ। आयस्रोत नदेखिएको त्यस्तो रकम कारोबारबाट मानिसले कालो धन आर्जन गरेको हुनसक्ने शंका बढी रहन्छ।

काठमाडौंमा हुन्डी कारोबार हुने मुख्य क्षेत्र यसअघि न्युरोड कहलिन्थ्यो। अहिले त्यहाँबाट विस्तार हुँदै अन्य क्षेत्रमा पुगेको छ।
भिडभाड र व्यापारिक गतिविधि हुने क्षेत्रमा हुन्डी कारोबार बढी हुने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरे बताउँछन्।

हुन्डी एक किसिमको ‘रेमिट्यान्स’ नै हो। तर यो अनौपचारिक माध्यमबाट आउने भएकाले रेमिट्यान्समा गनिँदैन। हुन्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध माध्यम हो, दुबै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार गरिने गरिएको छ।

अनौपचारिक क्षेत्रबाट आएको रेमिट्यान्सले विदेशी मुद्राको सञ्चिति घटाउने, अनौपचारिक क्षेत्रमा लगानी हुने हुनाले अनधिकृत व्यापार, व्यवसायसँगै राजश्वसमेत घटाउँछ।

प्रहरीका अनुसार हुन्डी कारोबारले बैंक तथा वित्तीय कारोबारको दायित्व पूरा गरेको हुँदैन। राष्ट्र बैंकले लागू गरेको बैंकिङ प्रणालीभित्रबाट कारोबार नहुने भएकाले यो गैरकानुनी हो।

हुन्डीको प्रमुख स्रोत रेमिट्यान्स हो। कतार, दुबई, साउदी अरब, मलेसियाबाट नेपालमा रेमिट्यान्स औपचारिक र अनौपचारिक दुई तरिकाले आउने गरेका छन्।

नेपालमा बस्ने तर भारतीय व्यक्तिहरू समेत यो कार्यमा देखिएको रजौरे बताउँछन्। हतार-हतारमा कुनै कारोबार गर्नुपर्दा उनीहरू एजेन्टमार्फत् व्यक्ति-व्यक्तिका हातमा रकम पुर्‍याइदिने चाँजो मिलाउँछन्।
राष्ट्र बैंकका अनुसार हुन्डी कारोबार रोक्नका लागि नेपालमा विभिन्न रेमिट कम्पनीलाई लाइसेन्स दिइएको छ। उनीहरूमार्फत् औपचारिक च्यानल प्रयोग गरी रेमिट्यान्स पठाउन सकिन्छ।

परिसर प्रमुख रजौरे हुण्डी मात्रै नभएर काठमाडौंमा हुने हरेक गैरकानुनी गतिविधि छिन्नभिन्न पार्न प्रहरी सक्रिय रहेको बताउँछन्।
‘हामीले सूचना संकलन गर्ने, गैरकानुनी गतिविधि भएको ठाउँमा द्रूत कारबाही चलाइरहेका छौं,’ उनले भने, ‘अहिलेसम्म सफलता हात पारिरहेका छौं, मंगलबार र बुधबार कारबाही गरेको क्षेत्रमा सर्च अपरेशन चलाएका छौं।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।