अजिटम सेवा केन्द्र सञ्चालन गर्न महानगर र करुणा फाउण्डेसनबीच सम्झौता

विराटनगर । विराटनगर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको महानगर अटिजम सेवा केन्द्र सञ्चालनका लागि दुई पक्षीय सम्झौता भएको छ ।

अटिजम सेवा केन्द्र सञ्चालनका लागि साझेदार संस्थाका रुपमा छनौट भएको करुणा फाउण्डेसन नेपाल र विराटनगर महानगरपालिकाबीच सोमबार सम्झौतापत्र आदानप्रदान भएको छ । सेवा केन्द्रमा आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, फाउण्डेसनका तर्फबाट कार्यकारी निर्देशक दीपकराज सापकोटा र कोशी प्रदेश प्रमुख योगेन्द्र गिरीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार फाउण्डेसनले अटिजम सञ्चालनमा प्राविधिक सहयोग गर्नेछ । जसअन्तर्गत सेवा केन्द्रमा कार्यरत जनशक्तिलाई तालिम दिने, अटिजम भएका बालबालिकाको प्रोपाइल तयार गर्ने, फिजियोथेरापी, स्पीच थेरापी (बोल्न सिकाउने), बालबालिका र अभिभावकलाई मनोचिकित्सक सेवा प्रदानलगायतका प्राविधिक क्रियाकलापमा सहयोग गर्ने सम्झौतामा उल्लेख छ ।

अटिजम सेवा केन्द्रको आफ्नै भौतिक संरचना निर्माणका लागि स्रोत जुटाउन समन्वय र सहयोग गरी सम्झौता भएको महानगरको स्वास्थ्य महाशाखा संयोजक डा. दिलीपकुमार यादवले जानकारी दिनुभयो । सेवा केन्द्रको भवन निर्माण गर्न महानगरले जग्गा उपलब्ध गराउनेछ । सो जग्गामा भवन निर्माण गर्न करुणा फाउण्डेसनले सहजीकरण गर्नेछ ।

मेयर कोइरालाले अटिजम सेवा केन्द्रका अनुगमन गर्नुका साथै कर्मचारीहरूलाई निर्देशनसमेत दिनुभयो । उहाँले अटिजम सेवा केन्द्र आफ्नो ड्रिम प्रोजेक्ट भएकाले यसलाई अझै व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अटिजम सेवा केन्द्र सञ्चालनका लागि महानगरले चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ विनियोजन गरेको थियो । विनियोजित रकममध्येबाटै ३० लाख रुपैयाँको लागतमा गत कात्तिकदेखि महानगर अटिजम सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । सेवा केन्द्रकी संयोजक रश्मी निरौलाका अनुसार केन्द्र बिहान १० देखि २ बजेसम्म सञ्चालन भइरहेको छ । हाल केन्द्रमा ३ बालिकासहित २० जनाले सेवा लिइरहेका छन् । महानगरको तथ्यांकअनुसार विराटनगर क्षेत्रभित्र ५१ जना अटिजम भएका बालबालिका छन् ।

केन्द्रभित्र ट्रेम्पोलिन, चिप्लेटी, चाकाचुली, पुल बल, रकिङ हर्स, घुम्ने पिङ, टेबल टेनिससहित आवश्यकताअनुसारका विभिन्न खेलौनाको समेत व्यवस्था गरिएको छ । केन्द्रमा भर्ना भएका बालबालिकाको उपचारसहित अध्ययनसमेत गराइनेछ । उनीहरूलाई उपचारपछि अन्य विद्यालयमा भर्ना गरिने यादवले जानकारी दिए । हाल फिजियोथेरापी, स्पीच थेरापी, फिजिसियन सेवा, खाजा, गाडीलगायत सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराइरहेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिनुभयो । सेवा केन्द्रमा भर्ना गर्न आउनेको अभिभावकहरूको चाप अत्यधिक भए पनि सीमित भौतिक संरचनाका कारण हाललाई थप भर्ना गर्न नसकिएको पराजुलीले बताउनुभयो । आफ्नै भवन निर्माणपछि संख्या बढाउँदै लगिने उहाँको भनाइ थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖