कर्णाली नदीमा बस खस्दा १० जनाको मृत्यु, १८ घाइते, उद्धार कार्य जारी
काठमाडौं, ३१ जेठ । दैलेखको आठबिस नगरपालिका-४ को नैनाल सडक खण्डबाट कर्णाली नदीमा खस्दा बस १० जनाको मृत्यु भएको छ । १८ यात्रु घाइते भएका छन् ।
कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नं बस दिउँसो करिब ३ बजे कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर योगेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार दुर्घटनास्थलमा उद्धार जारी छ ।
त्यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो पुल नजिकै आज बिहान रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्ँिकदा दुईजनाको मृत्यु भएको छ ।
मङ्गलबारदेखि राष्ट्रिय जनता पार्टी नेपालले अह्वान गरेको बन्दका कारण राजमार्गमा रोकिराखेको को १ ख ३९७४ नंको बाँस लोड गरेको ट्रकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ प ६२५३ नंको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
सो दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको तेरौता–७ बस्ने ४० वर्षीय तेजनारायण चौधरी र पछाडि सवार नाम र ठेगाना नखुलेका अन्दाजी २१ वर्षीय एकजनाको मृत्यु भएको छ । ट्रकका चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय, रुपनीले जनाएको छ ।


