टीकापुर घटनाका पीडितले न्याय पाउँछन् : गृहमन्त्री
टीकापुर ६ असार । गृहमन्त्री जर्नादन शर्माले टीकापुरमा भएको घटनामा कसैलाई पनि अन्याय हुन नदिने बताउनु भएको छ ।
नेकपा (माओवादी केन्द्र) कैलालीले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा यहाँले टीकापुर घटनामा पीडित भएका सबैलाई न्याय दिइने बताउनुभयो । टीकापुर घटना सुनियोजित भएको बताउँदै गृहमन्त्री शर्माले त्यस घटनामा माओवादीलाई फसाउने प्रयास गरिएको उल्लेख गर्नुभयो ।
थारु र पहाडी समुदायलाई लडाउनका लागि टीकापुर घटना गराइएको दाबी गर्दै उहाँले अब त्यसलाई चुनावी माध्यमबाट चिर्न आवश्यक रहेको धारणा राख्नुभयो । “जनता र प्रहरीबीच खेलेर फाइदा उठाएका विभाजनकारीले घटना गराएका हुन”–उहाँले भन्नुभयो, “तर हाम्रो जनताप्रति लोकप्रियता बढेको देखेर केही दलले हाम्रो नाम मुछेका हुन ।”
जनताका एजेण्डा संविधानमा दर्ज गराउने एक मात्र पार्टी माओवादी भएको उल्लेख गर्दै गृहमन्त्री शर्माले आपूmले अरुजस्तो भ्रष्टाचार गर्ने नभई मुलुक र सङ्गठनको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस


