बोधिचित्त बोटधनी प्रहरी नियन्त्रणमा

बनेपा, ९ असार । काभ्रेपलाञ्चोकमा बोधिचित्त फलको विवाद मिले पनि प्रहरीले बोटधनी ठगुरानी तामाङलाई आज नियन्त्रणमा लिएको छ ।

काभ्रेपलाञ्चोक, रोशी गाउँपालिकाको एउटा रुखमा फलेको बोधिचित्त फलका विषयमा त्रिपक्षीय विवाद तत्कालका लागि अन्त्य भए पनि दुई पक्षले बोटधनी तामाङविरुद्ध ठगी गरेको आरोप लगाउँदै प्रहरीमा ठाडो उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रजिअ शिवप्रसाद सिंखडाले जानकारी दिनुभयो ।

यसअघि जिल्ला प्रशासन कार्यालय, धुलिखेलमा बोटधनी तामाङले निवेदन दिँदै सत्यमान लामासँग नै पहिलो पटक सम्झौता भएकाले उनलाई बोधिचित्तको फल उपलब्ध गराउन भनिएको थियो । लामाले तामाङसँग रु ८० लाखमा बोट किनेर विगतका वर्षदेखि नै उपभोग गरेका थिए ।

“अब उनका विषयमा पनि छानबिन हुन्छ”, प्रजिअ सिंखडाले भन्नुभयो । बोटधनी तामाङविरुद्ध दवाङ्जु लामा र गशेण लामा पक्षले प्रहरीमा ठाडो उजुरी दिएको छ । टिपेको फल तीन पक्षले नै आफ्नो भएको जिकिर गरेपछि प्रहरीले करिब चार पोका बहुमूल्य बोधिचित्तको फल दुई दिनअघि नियन्त्रणमा लिएको थियो ।

प्रहरीले नियन्त्रणमा लिएको बोधिचित्तको फल लामाले नै लगेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । उहाँका अनुसार तामाङविरुद्ध ठगी मुद्दा चलाइने छ ।

रोशी गाउँपालिकास्थित नागबेलीमा रु एक करोडभन्दा बढी पर्ने बोधिचित्तको रुख तीन व्यापारीसँग फरक फरक मूल्यमा बेचेपछि फल कसको हो भन्ने विषयमा विवाद भएको हो । रोशी गाउँपालिकामा आम्दानीको दरिलो स्रोत मानिने बोधिचित्तको माला बौद्ध धर्मावलम्बीका लागि नेपालबाहेक विदेशमा समेत पैठारी हुने गरेको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।