तेह्रथुमको यो राँगोले बर्षमा यति धेरै कमाउने रहेछ !

तेह्रथुम । भैँसी पालेर दूध, घ्यु र पाडापाडी बेच्दा राम्रै आम्दानी लिन सकिन्छ भन्दा अनौठो नहोला । तर यहाँका केही किसानले भने राँगो पालेरै भैंसीबाट भन्दा धेरै आम्दानी लिइरहेका छन् ।

बीजका लागि ल्याएका उन्नत जातका राँगो पाल्ने यहाँका किसानले भैँसीलाई राँगो लगो लगाएरै वार्षिक लाखौँ रुपैयाँ कमाउने गरेका हुन् ।

पहाडी जिल्लाका लेकाली गाउँमा घरैपिच्छे जस्तो भैँसी पाल्ने चलन अझै हराएको छैन । गोठमा दुहुनो भैँसी भएमात्र घरको मुहार उज्यालो हुने पुख्र्यौली कथन पनि छ । तर राँगोलाई स्याहार गर्ने किसानको सङ्ख्या बर्सेनि घट्दै गएकाले गाउँमा राँगो पाल्ने र बहालमा लगाउने किसानका दिन फिरेका हुन् ।

राँगो पालेर भैँसीको जति आम्दानी लिन नसकिने भएपछि राँगोलाई मासुको रुपमा प्रयोग गर्ने चलन छ । खानपिन र स्याहार धेरै मेहनत गर्नुपर्ने भएकैले पनि राँगोपालन त्यति सजिलो नभएकाले राँगो पाउन छाडेपछि ओयाक्जुङ–४ का उमानाथ रिमालले बीजका लागि किनेको राँको अहिले आम्दानीको राम्रो स्रोत बनेको छ ।

रिमालले राँगोलगाएबापत वार्षिक रु तीन लाख ५० हजार बढी आम्दानी गर्दै आउनुभएको छ । बीजका लागि पालेको राँगोको एउटा भैँसीबाट हजारदेखि दुई हजार ५०० शुल्क लिने गरेको रिमाल बताउछन् ।

बिहान उठेदेखि साँझसम्म राँगोको स्याहारमै बिताउँछु, रिमाल भन्छन् – राँगोको स्याहार गरेर सबै साथीभाइको चित्त बुझाउन सके आम्दानी पनि राम्रै हुने रहेछ ।

रिमालले ओयाक्जुङ गाविससँगै जलजले, पौठाक, श्रीजुङ, म्याङलुङ, साब्ला, तम्फुला, आम्बुङ र सोल्मासम्म राँगो लगिदिएर सेवा दिने गरेको बताए । आजभोलि रिमालको परिवारको आम्दानीको मुख्य स्रोत नै राँगो बनेको छ । राँगोबाट आएको आम्दानीले नै सामान्य खर्चदेखि चाडपर्वसमेत धान्ने गरेको छ ।

राँगो पालेर बीउका लागि प्रयोगमा ल्याएर आफूले पनि राम्रो आम्दानी गरेको बताउछन् अर्का कृषक इसिवु–२ का धर्मसिङ बस्नेत । गाउँमा बीजका लागि राँगो पाउन छाडेपछि यहाँका भैँसीपालक किसानले लुकुवा चौतारा सामुदायिक बन समूहमार्फत नै कृषक बस्नेतलाई राँगो किन्न सघाएर गाउँमै बीउ राँगो पालिएको हो ।

सामान्य आर्थिक अवस्था भएका बस्नेत अहिले राँगोबाट आएको आम्दानी नै छोराछोरीको पढाइ, बिहान बेलुकाको दुई गाँस र चाडपर्व राम्रैसंग मनाइएको बस्नेत बताउँछन् ।

बीजका लागि खरिद गरी ल्याएको राँगोबाट सिम्ले र इसिवु तथा सम्दुका समेत किसानलाई सेवा दिँदै आएका बस्नेतले पनि रु तीन लाख भन्दा बढी कमाउदै आएका छन् । बस्नेतलाई सामुदायिक वन समूहले बहुसरोकारवाला वन कार्यक्रमअन्तर्गत रु २५ हजार बिना ब्याज ऋण उपलब्ध गराएर सहयोग गरेको थियो ।

सो सामुदायिक वनमा नेपाल ग्रामीण पुनःनिर्माण संस्था र सामुदायिक वन उपभोक्ता जिल्ला महासङ्घले साझेदारीमा बहुसरोकारवाला वन कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

बस्नेतले पालेको राँगोबाट यहाँका ४०० भन्दा बढी घरधुरीले सेवा लिइरहेका छन् । राँगोकै आम्दानीले अहिले राँगो खरिदका लागि लिएको ऋण चुक्ता गरेर अरु दुई वटा दुहुना भैँसी पनि जोडिसकेको बस्नेतले बताए ।

गाउँमै उन्नत जातको राँगो ल्याएर व्यावसायिक रुपमा नै पाल्न थालेपछि अहिले बहाल उठाउन पनि खासै समस्या नरहेको ओयाक्जुङ–४ का अम्बिका दुलालले बताए । उन्नत जातको बीउ राँगोको प्रयोगबाट गाउँका भैँसीमा दूध घ्युको मात्रामा वृद्धि हुनुकासाथै पाडापाडी पनि फष्टाउन थालेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।