आचारसंहिता उल्लंघन गर्नेलाई जेल हाल्ने सम्मको तयारी : आयुक्त पौडेल

राजपाको सहभागिताले टेवा : प्रचण्ड

कलैया, १८ भदौ । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचन क्षेत्र नं २ मा आचारसंहिता उल्लंघन गर्नेलाई जेल हाल्नेसम्मको तयारी आयोगले गरेको खुलासा गर्नुभएको छ ।

आज कलैयामा राजनीतिक दलसम्बद्ध प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त पौडेलले दलहरुले व्यापकरुपमा आचारसंहीताको उल्लंघन गरिरहेको बताउँदै अरू दललाई निषेध गर्ने काम कसैवाट हुन नहुने तर्क गर्नुभयो । संविधान कार्यान्वयन गर्ने पाटोको रुपमा स्थानीय निर्वाचन भइरहेको बताउँदै पौडेलले योग्य, तथा कुशल उम्मेदवार छान्न जनतालाई आग्रह गर्नुभयो ।

सामाजिक सद्भावमा खलल पुग्ने काम कोही कसैबाट भएमा त्यसको परिणाम गलत हुने तर्क गर्दै आयुक्त पौडेलले आपसी सद्भाव कायम गर्न सबै राजनीतिक दल तथा जनताले कार्य गर्नुपर्नेमा जोड दिुनुभयो । प्रदेश नं २ मा निर्वाचन सामग्री पठाइदिएको बताउँदै मत हाल्नलाई कुनै कठिनाई नहुने बताउनुभयो । सो अवसरमा दलहरुले आचारसंहिता पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्यसैगरी, पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आयुक्त पौडेलले आयोगले प्रदेश नं २ को चुनावलाई सम्वेदनशीलरुपमा लिएको बताउनुभयो । नेपाल–भारतबीचको खुला सिमाना, सशस्त्र तथा भुमिगत समुहहरु भएको हुँदा संवेदनशील भएपनि दरिलो सुरक्षा प्रबन्ध गरी निर्वाचन गराउनमा कुनै कसर वाँकी नराख्ने गरी आयोगले प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो ।

स्थानीय तहको अन्तिम चुनाव भएको हुँदा कतिपय दलहरुले चुनाव जित्न प्रतिष्ठासँग जोड्न थालेको हुँदा यस्तो अवस्थामा आयोग निकै संवेदनशील भएर अगाडि बढिरहेको पौडेलले भन्नुभयो । कसैलाई काखा कसैलाई पाखा हिसाबले समाचार प्रशारण प्रकाशन नगर्न पनि उहाँले पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

पार्टीमुखी पत्रकारिताभन्दा माथि उठेर कलम चलाउन उहाँले आग्रह गर्नुभयो । सरकार र आयोगवीच आचारसंहिता लगाएको विषयमा केही मतमतान्तर भइरहेको छ नि भन्ने प्रश्नको जवाफमा आयुक्त पौडेलले निर्वाचनको एकसय २० दिन अगाडि आचारसंहिता लगाउनुपर्ने बाध्यता भएको हुँदा आचारसंहिता लगाउनु परेको बताउँदै सरकारलाई केही अप्ठयारो परेको अवस्था छ भने निर्वाचन आयोगसँग बसेर गाँठो फुकाउन आयोग तयार रहेको जानकारी दिँदै आचारसंहिताको पालन गर्न सबैलाई आग्रह गर्नुभयो ।

राजपाको सहभागिताले टेवा : प्रचण्ड

यसैबीच, पूर्वप्रधानमन्त्री तथा नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढिलै भएपनि राजपा स्थानीय निर्वाचन लगायतका अन्य निर्वाचनमा सहभागिता जनाउनुले संविधान कार्यन्वयनमा ठूलो टेवा पुग्ने बताउनुभएको छ ।

जितपुर सिमरा वार्ड नं १६, टाँगिया बस्तीमा आज आयोजित एक कार्यक्रममा उहाँले संविधान संशोधन गरी तराई मधेसका जनताको पीडा सम्बोधन गर्न सत्ता साझेदार दलहरुको सहयोगमा सदनमा संविधान संशोधन प्रस्ताव पेश गरेपनि नेकपा ९एमाले० का कारण असफल भएको र मधेस विरोधी पार्टी कुन हो भन्ने कुरा तराई मधेसका जनतालाई राम्ररी थाहा भइसकेको बताउँदै मतदानको माध्यमवाट त्यस्ता दललाई पाठ सिकाउनु पर्ने उहाँले बताउनुभयो ।

तराई मधेशका जनतामा नेकपा ९माओवादी केन्द्र० मा पार्टी प्रवेश गर्ने लहर नै चलेको हुँदा २ नं प्रदेशमा पार्टी पहिलो हुने दावी समेत गर्नुभयो । तराई मधेसका यावत समस्याका लागि माओवादी केन्द्र सम्वेदनशील रहेको भन्दै पूर्वप्रधानमन्त्री दाहालले मधेशको मुद्दा सम्बोधन गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

टाँगिया बस्तीका १६ सय जनतालाई भौतिक सुविधासहित अर्को स्थानमा स्थानान्तर गर्ने बताउँदै उहाँले चिन्ता नमान्न स्थानीय बासिन्दालाई आग्रह गर्नुभयो ।

जितपुर सिमरा नपाको टाँगिया बस्तीको माओवादी केन्द्रका एकाई कमिटी अध्यक्ष सुमन ठोकरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेताहरु रामबहादुर थापा, गोपाल ठाकुर, जयराम दाहाल, अनिल श्रेष्ठ, राजन पौडेललगायतले सम्बोधन गर्नुभएको थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।