देउवाले भने,– कम्युनिष्टले जिते भने यी काम गर्न पाइँदैन

काठमाण्डौं, प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रजातन्त्र रहने कि साम्यवाद ल्याउने भन्नेबीच भएको बताएका छन् ।

दिवंगत काँग्रेस नेता एवं २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको १०२ औँ जन्मजयन्तीका अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानद्वारा शुक्रबार राधजानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘प्रजातन्त्रलाई संगठित रुपमा सिध्याई साम्यवाद स्थापना गर्न एमाले र माओवादी एक भएर लागेका छन्, यसका विरुद्ध जनताले निर्वाचनमा प्रजातन्त्र पक्षमा मत दिई फैसला दिनुपर्छ ।’

नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले स्थानीय निकायको निर्वाचनमा जनताले कम्युनिष्ट दललाई पहिलो स्थानमा पु¥याए पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काँग्रेसलाई पहिलो स्थान दिन जनतासित आग्रह गरे । ‘कम्युनिष्ट शासन आएमा खुलेर बोल्न, निर्धक्क लेख्न पाइन्न, बहुदलीय प्रतिष्पर्धा त कता हो कता, मानवअधिकार भन्ने केही रहन्न’, उनले भने ।

प्रधानमन्त्री देउवाले आफ्नो पार्टी जहानियाँ राणा शासन, पञ्चायत तथा निरंकुश तत्कालीन राजा ज्ञानेन्द्रका विरुद्धमा अग्रमोर्चामा लडेको र अब पनि प्रजातन्त्रविरुद्ध देखा पर्नेका विरुद्ध लड्ने बताए । प्रधानमन्त्री देउवाले निर्वाचनमा आफ्नो पार्टीले पहिलो स्थान प्राप्त गरेमा प्रजातन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र आर्थिक समृद्धिको यात्रामा देश अगाडि बढ्ने बताए ।

उनले प्रजातन्त्र स्थापना गर्न सिंहले देखाएको त्याग, समर्पण र निष्ठालाई सबैले अनुसरण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा काँग्रेस नेता प्रकाशमान सिंहले गणेशमान सिंह अवसरवादी राजनीतिभन्दा सिद्धान्तको राजनीतिमा अडिग र निष्ठावान् व्यक्तित्व भएको स्मरण गर्दै उहाँले नेपाली जनतालाई रैतीबाट सार्वभौम बनाउन जीवनभर लडेको स्मरण गरे । गणेशमान पुत्रसमेत रहेका सिंहले विसं २०४६ को ऐतिहासिक जनआन्दोलन गणेशमानको नेतृत्वमा भएको र कम्युनिष्टलाई बहुदलीय प्रतिष्पर्धाको राजनीतिमा ल्याउन उच्च उदारता देखाएको बताए ।

फाउण्डेशनका अध्यक्ष एवं पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपाली राजनीतिमा गणेशमान लौह पुरुषका रुपमा रहिरहने बताउँदै प्रजातन्त्रका लागि उनको योगदान, त्याग र निष्ठाको स्मरण गरे । आफ्नो सक्रिय राजनीतिक जीवनको छ दशकमध्ये गणेशमानले १५ वर्ष कारागार र १५ वर्ष निर्वासनमा बिताएका थिए । विसं १९९७ मा उनी राणाशासनका विरुद्ध सक्रिय राजनीतिमा उत्रिएका थिए । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।