बाँझो बगर कोतर्दै तन्नेरी

प्यूठान, जेठ २२ गते । प्यूठान नगरपालिका–१, खैराका माधव आचार्य बुटवल पावर कम्पनीको बाँझो जग्गामा रोपाइँ गर्दै हुनुहुन्छ । बन्दाबन्दीले अन्नलगायत खाद्य उपजमा भएको महँगी सम्झिएर उहाँ चार रोपनी बाँझो जमिनलाई खेतीयोग्य बनाउन लाग्नुभएको हो ।

“कमाउने र किन्ने कसरी भन्ने चिन्ता छ”, कृषक आचार्यले भन्नुभयो, “यही बाँझो जमिनमा खेती गरे पनि उब्जेपछि त केही दिन धान्ला ।” आचार्यसँंगै गाउँका कृषक सोही ठाउँमा रहेको बाँझो बगरमा खेती गर्न व्यस्त छन् । वर्षौँदेखि खाली जमिनमा यस वर्षदेखि खेती गर्न थालिएको छ । रोजगारीका लागि विभिन्न मुलुकमा गएका तन्नेरीहरू यसपटक गाउँ फर्केपछि बाँझो जमिनमा कृषि हतियार चल्न थालेका हुन् ।

झिमरुक जलविद्युत् उत्पादन केन्द्रमा पानी लैजानका लागि बनाइएको ड्याम साइटनजिक करिब ३५० रोपनी जमिन वि. सं. २०४८ देखि बाँझो रहँदैआएको छ । किसानले खेती गर्न थाल्दा कम्पनीले रोकेपछि जमिन बाँझो बन्दै गएको थियो । साठीभन्दा बढी कृषकले यस वर्ष खेती गर्न लागेको बुटवल पावर कम्पनीका पूर्वकर्मचारी भोजबहादुर बस्नेतले जानकारी दिनुभयो ।

त्यसैगरी, प्यूठान–१० मरन्ठानाको वडरामा जग्गा बाँझो रहेको १४ वर्षपछि खेती हुन थालेको छ । चार युवाले करिब १७ रोपनीमा खेती गरेको प्यूठान–७, टिकुरीका राजन केसीले बताउनुभयो । “बाँझो जमिनमा चार जना युवाले निःशुल्क रुपमा जग्गाधनीको सहमतिमा खेती गर्न थालेका छौँ”, केसीले भन्नुभयो, “पहिलो वर्ष खेतीयोग्य बनाउँदै सामान्यबाट शुरुआत गरेका छौँ ।”

बाँझो जमिन खनेर मकैसंँगै भटमास, बोडी, तिल र रहर खेती गरिएको हो । खाली जमिन सदुपयोग गर्दै उत्पादन लिन र आय वृद्धि गर्न खेती गरिएको र अर्को याममा तरकारी खेती गर्ने योजना रहेको केसीको भनाइ छ ।

स्थानीयवासी धीरेन्द्र पण्डित, पशुपति पण्डित र निरन्जन जिएमले झिमरुक खोलाको बगरमा खेती गर्न थाल्नुभएको हो । चौध वर्षपहिले झिमरुकमा आएको बाढीले कुलो बगाएर खेतीयोग्य जमिन बाँझो बनेको थियो ।

बन्दाबन्दीका कारण युवाको कृषिमा आकर्षण बढ्न थालेको छ । प्युठान नगरपालिकाका खैरा, मन्ठाना, बिजुवार, धर्मावती र जुम्रीकाँढाका युवाले वर्षाैँदेखि बाँझिएको जमिनमा खेती गरिरहेको प्यूठान नगरपालिकाका कृषि शाखा प्रमुख मेघराज पोख्रेलले जानकारी दिनुभयो ।

‘एक गाउँ एक कृषि प्राविधिक’अन्तर्गत नगरपालिकाका १० वडामा ६ प्राविधिकले कृषि परामर्श गरिरहेका छन् । “सबै वडामा बाँझो रहेको भूमिमा खेती गर्न प्राविधिकले परामर्श गरिरहनुभएको छ”, पोख्रेलले भन्नुभयो, “बन्दाबन्दीले युवामा नयाँ जोश र कृषि पेसामा आकर्षण थपेको छ ।”

नगरपालिकाका बाँझो जमिनमा खेती गर्ने कृषकलाई बीउ आदिमा प्रोत्साहन गरिने भएको छ । पोख्रेलका अनुसार यस वर्ष नगरपालिकाका करिब छ सय रोपनी बाँझो जमिन खनेर खेती गरिँदैछ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।