सङ्कटमा विद्यालय भयो प्रहरीको सारथी

– रमेश गिरी

भक्तपुर । कोभिड–१९ नियन्त्रणमा सडकदेखि विभिन्न ठाउँमा अग्रभागमा खटिने प्रहरीलाई यसको सङ्क्रमणबाट जोगाउन विद्यालयलाई अस्थायी ब्यारेक बनाइएको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नेपालमा दिनानुदिन बढ्दै गएपछि प्रहरी पनि उच्च जोखिममा रहेकाले सामाजिक एवं भौतिक दूरी कायम राख्दै ड्युटीमा परिचालन गर्न महानगरीय प्रहरी परिसर भक्तपुरले विद्यालयका कक्षाकोठालाई अस्थायी प्रहरी ब्यारेक बनाएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त जगाती, वृत्त थिमि र विभिन्न ठाउँमा रहेका प्रहरी प्रभागमार्फत ड्युटीमा खटिने प्रहरी र कर्मचारीको सामाजिक दूरी कायम राख्न विद्यालयलाई प्रहरी ब्यारेकका रूपमा प्रयोग गर्नुपरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले बताए । परिसरका प्रहरी उपरीक्षक प्रधानले भने, ‘सबै प्रहरीलाई एउटै ब्यारेकमा राख्दा कोरोना रोकथामको क्रममा अग्रभागमा खटिने एक जना प्रहरीमा मात्रै कोरोना सङ्क्रमण भए त्यसले सिङ्गो ब्यारेकका प्रहरीलाई असर गर्ने सम्भावना हुन्छ, त्यसैले सङ्क्रमणको जोखिम कम गर्न फरक–फरक ठाउँमा सामुदायिक विद्यालयको कक्षाकोठालाई ब्यारेकका रूपमा सञ्चालन गरेका हौँ ।’

प्रहरी परिसर, वृत्त र प्रभागबाट ड्युटीमा खटिने सबै प्रहरी र कर्मचारीलाई भौतिक दूरी कायम गर्दै खाने मेस, सुत्ने ब्यारेक, छुट्टाछुट्टै शौचालय र बाथरुमको व्यवस्था गर्न ब्यारेकमा सम्भव नभएपछि जिल्लाका सामुदायिक विद्यालयलाई अस्थायी ब्यारेक बनाएको हो । जिल्लास्थित सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) को बैठकले निर्णय गरी सम्बन्धित नगरपालिका र विद्यालयको समन्वयमा विद्यालयको केही भागलाई ब्यारेक बनाएको हो । आफ्नो ब्यारेक र विद्यालयको अस्थायी ब्यारेकमा बसेका प्रहरीबीच एकापसमा जमघट नहुने गरी फरक–फरक समयको ड्युटी तालिकाअनुसार खटिने भएकाले जोखिम कम हुने प्रहरीको भनाइ छ ।

परिसरले जिल्लाका नौ विद्यालय, सिटीइभिटीको कार्यालय र चाँगुनारायण नगरपालिकाको २ वडाको नयाँ कार्यालय भवनलाई ब्यारेकका रूपमा प्रयोग गरी प्रहरीले परिचालन गरेको छ । प्रहरी उपरीक्षक प्रधानकाअनुसार महानगरीय प्रहरी परिसर भक्तपुरमार्फत खटिने प्रहरीमध्ये २८ विद्यार्थी निकेतन माविमा, २२ शारदा माविमा, दरबार स्क्वायर प्रहरी प्रभागका सातलाई पद्म माविको ब्यारेकमा राखिएको छ ।

त्यस्तै महानगरीय प्रहरी वृत्त जगातीमा रहेका प्रहरीमध्ये ४२ लाई आदर्श आजाद मावि भेलुखेलमा, सूर्यविनायक नपाको कटुञ्जे प्रभागका १२ लाई सुवर्णेश्वर माविमा, दधिकोट प्रभागका पाँचलाई अरनिको मावि दधिकोटमा, बालकोट प्रभागका सातलाई पुरानो प्रभाग भवनको अस्थायी ब्यारेकमा राखिएको छ । चाँगुनारायण नपाको सुडाल प्रभागका छ जनालाई महेन्द्र माविमा चाँगुनारायण दुवाकोटका छ जनालाई दुवाकोट वडा नं २ को नयाँ भवनको अस्थायी ब्यारेकमा राखिएको छ ।

त्यस्तै, महानगरीय प्रहरी बृत्त थिमिका २० लाई सिद्धिकाली माविमा, प्रहरी प्रभाग सानोथिमिका ११ प्रहरीलाई भने सिटीइभिटीको कार्यालय भवनको अस्थायी ब्यारेक राखिएको छ । ‘अहिलेको स्वास्थ्य विपद्मा यहाँका विद्यालय प्रहरीको सारथी बनेका छन्, एउटै व्यारेकमा राख्दा एक जनालाई सङ्क्रमण भयो भने सिङ्गो ब्यारेकका सबैलाई एकैपटक क्वारिन्टनमा राख्नुपर्ने बाध्यता हुन आउछ’, प्रहरी उपरीक्षक प्रधानले भने, ‘यस्तो अवस्था आएमा सुरक्षामा नै असर पार्न सक्छ, त्यसैले विद्यालय र सरकारी भवनलाई अस्थायी ब्यारेक बनाएर आफ्नो ब्यारेक र अस्थायी ब्यारेकमा विभाजन गरेर राखेका छौँ ।’

जिल्लामा रहेका प्रहरीमध्ये एकतिहाइलाई मात्रै विद्यालय र सरकारी भवनमा राखिएको जानकारी दिँदै विद्यालय र कार्यालय सञ्चालनमा आउने भएपछि सबै प्रहरीलाई ती ठाउँबाट हटाएर पठनपाठनमा सहज बनाउने उनको भनाइ थियो । भक्तपुरमा कार्यरत ४६ प्रहरीको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ । उपत्यका भित्रिने र बाहिरिने यात्रुसँग प्रत्यक्ष सम्पर्कमा रहेर सेवामा खटिँदै आएका प्रहरी कर्मचारीको स्वाब सङ्कलन गरी कोरोना भाइरस परीक्षणका लागि पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए । त्यस्तै १६३ प्रहरीको आरडिटी गराएको थियो ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।