चितवनमा जडीबुटी प्रशोधन उद्योग स्थापना

कृष्ण आचार्य

भरतपुर, जेठ ३० गते । चितवनमा पहिलोपटक जडीबुटी तेल प्रशोधन उद्योग स्थापना भएको छ । जिल्ला जडीबुटी सहकारी सङ्घले रत्ननगर नगरपालिका–११ मङ्गलपुरमा उद्योग स्थापना गरेको हो ।

उद्योगको बिहीबार वाग्मती प्रदेशका सांसद कृष्ण खनालले उद्घाटन गर्नुभयो । करिब ४० लाखको लगानीमा स्थापना गरिएको उद्योगले वनस्पतिबाट निस्कने सबै तेल उत्पादन गर्ने जिल्ला जडीबुटी सहकारी सङ्घका अध्यक्ष कुलप्रसाद देवकोटाले जानकारी दिनुभयो । उद्योगमा प्रशोधन मेसिनसँगै सङ्कलन केन्द्र स्थापना गरिएको छ । उद्योग नहुँदा चितवनमा उत्पादन भएको जडीबुटी बारा जिल्लामा निर्यात गरिएको थियो । उद्योग स्थापनापश्चात जिल्लामा वार्षिक दुई हजार लिटर तेल उत्पदन गरिने अध्यक्ष देवकोटाले बताउनुभयो ।

उद्योग स्थापनाका लागि केन्द्रीय वन विभागले रु तीन लाख ६० हजार सहयोग गरेको छ । अन्य रकम सहकारी आफैँले उठाएका छन् । चितवनमा ५० किसान जडीबुटी खेतीमा आबद्ध छन् । कतिपय सहकारी आफैँले पनि जडीबुटी खेती गरेका छन् । भरतपुर र रत्ननगरका विभिन्न क्षेत्र, सामुदायिक वन र कवुलियती वनमा जडीबुटी खेती गरिएको छ । चितवनमा मेन्था, सिटोमेला, क्यामामाइल, लेमन ग्रास, तितेपातीलगायतका जडीबुटी उत्पादन हुने गरेको छ । एउटै सिजनमा मेन्था १० टन, सिटोमेला ३० टन उत्पादन भएको जडीबुटी सङ्घले जनाएको छ ।

उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, केन्द्रीय जडीबुटी सङ्घका अध्यक्ष ईश्वरी पाण्डेलगायतको उपस्थिति थियो ।

सामुदायिक वनमा काउसोको विरुवा रोपियो
नवजागृति सामुदायिक वनमा काउसोको बिरुवा रोपिएको छ । भरतपुर महानगरपालिका–११ स्थित वनमा १०० बढी काउसोको बिरुवा रोपिएको हो ।

सामुदायिक वनलाई उत्पादनमूलक क्षेत्रका रूपमा प्रयोग गर्न बहुउपयोगी गुण भएको काउसो रोपिएको वाग्मती प्रदेशका सांसद विजय सुवेदीले बताउनुभयो । काउसो दुई प्रकारको हुन्छ । “एउटा काउसो चिलाउने हुन्छ, जुन हामी सबै त्यसबाट डराउँछौं”, उहाँले भन्नुभयो, “हामीले रोपेको बिरुवा नचिलाउने खालको हो ।” यो तरकारी खानका लागि घरघरमा लगाउन सकिन्छ । सामुदायिक वनमा खेर गएको जमिनमा तरकारी उत्पादन गर्ने उद्देश्यका साथ बिरुवा रोपिएको उहाँले बताउनुभयो । सामुदायिक वनको आयआर्जन वृद्धि गर्नका लागि उत्पादनमूलक फलफूल र तरकारी लगाउनुपर्नेमा उहाँको जोड छ ।

सांसद सुवेदीले असार १४ गते आफ्नो निर्वाचन क्षेत्रमा ५० हजारभन्दा बढी बिरुवा रोप्ने योजना रहेको जानकारी दिनुभयो । भरतपुर एक बगैँचा अभियान शुरु गर्नुभएका सांसद सुवेदीले कौशीखेती र करेसाबारीलाई प्रोत्साहन गर्दै आउनुभएको छ । “यो प्राचीन आयुर्वेद पद्धतिमा महत्वपूर्ण छ”, काउसो खेतीसम्बन्धी जानकार परशुराम लामिछानेले भन्नुभयो, “हामी चिलाउँछ भनेर तर्सन्छौँ, तर यो बहुउपयोगी छ । उहाँले यसलाई पौष्टिक आहारका रूपमा पनि प्रयोग गर्न सकिने बताउनुभयो ।

मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउन यसले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । “यो अल्जाइमर, पार्किनसन र नसासम्बन्धी रोगका बिरामीलाई महत्वपूर्ण औषधि हुन्छ”, लामिछानेले भन्नुभयो । पहिले–पहिले थारू समुदायको खेतबारीमा हुने काउसो अहिले लोप हुँदै गएको उहाँले बताउनुभयो । यसको उपयोगिता थाहा भएपछि पछिल्लो समय घरघरमा अभियानका रुपमा समेत रोप्न थालिएको उहाँले भन्नुभयो ।

नवजागृति सामुदायिक वनका अध्यक्ष पुस्तक गौतमले वनले आफँै गर्नुपर्ने काम सांसदले गरेको भन्दै यसलाई अभियानका रूपमा सञ्चालन गरिने बताउनुभयो । नवजागृति वनलाई उत्पादनमूलक क्षेत्रमा लगाउने उहाँले उद्घोष गर्नुभयो । “हामीले अहिलेसम्म ढलेका रुख काटेर मात्रै वनको व्यवस्थापन गरेका छौँ”, उहाँले भन्नुभयो, “अबका दिनमा यसलाई उत्पादनसँग जोड्नुपर्छ ।”

काउसो नेपालका विभिन्न भूभागमा पाइने एक प्रकारको ओखतीय गुण भएको जङ्गली वनस्पति हो । काउसोको लहरा हुन्छ, यसको पात सिमीको पातजस्तै तीनपाते हुन्छ भने आकारमा सिमीको पातभन्दा ठूलो हुन्छ । यसको कोसा पनि सिमीकै कोसाजस्तो हुन्छ । यसको कोसामा एक प्रकारको झुसहरू हुन्छन् । यसको गेडा र जरालाई विभिन्न रोगको ओखती बनाउन प्रयोग गरिन्छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।