खेर गएको पाखोमा अलैँची खेती

रामपुर, जेठ ३१ गते । निस्दी गाउँपालिका, खाँदरका तुलबहादुर बयम्बु प्रयोगमा नआएका पाखो जमीनमा अलैँची भरिएर आयस्रोत भित्रिँदा दङ्ग हुनुहुन्छ ।

उहाँले सो पाखाकोे १५ रोपनी जग्गामा अलैँची लगाउनुभएको छ । तीन वर्षयता उत्पादन शुरु भइसकेको छ । उहाँले उत्पादनको पहिलो वर्ष रु १५ हजार र दोस्रो वर्ष रु एक लाख ५० हजारको अलैँची बिक्री गर्न सफल हुनुभयो । तेस्रो वर्ष (गत वर्ष) मौसम उपयुक्त नभएकाले उत्पादन कम हुँदा रु ५० हजारको आम्दानी भएको छ । यो वर्ष करीब दुई क्वीन्टल उत्पादन हुने उहाँको अनुमान छ । ‘खेती गर्ने तरिका जानेमा खेर गएका पाखो जग्गा पनि पैसा फल्ने हुँदो रहेछ, वर्षेनी पाँच सयदेखि छ सयसम्म बिरुवा थप गर्दै गइरहेको छु’, बयम्बुले भन्नुभयो । बिरुवा लगाइएको एकदेखि डेढ वर्षपछि मात्रै उत्पादन लिन सकिन्छ ।

छ वर्षअघि इलाम भ्रमणमा गएका बेला एक विरुवा ल्याएर खेती शुरु गर्नुभएका बयम्बु नै त्यस क्षेत्रमा अलैँचीको खेती शुरु गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । यस क्षेत्रमा अलैँचीको व्यावसायिक खेतीबारे यस अगाडि कसैलाई जानकारी थिएन । बयम्बुले लगाएको अलँैचीले चर्चा पाएपछि गाउँपालिकाले पकेट क्षेत्रका रुपमा विस्तार गर्न थालेको छ ।
गाउँका करीब १५० रोपनी क्षेत्रफल अलैँचीले भरिँदा गाउँको वातावरण नै हरियालीमय बनेको अलैँची पकेट क्षेत्र विस्तार कार्यक्रमका अध्यक्ष मानुराज खाम्चा बताउनुहुन्छ ।

गाउँपालिकाको सहयोगमा यहाँका ७५ घरपरिवारले व्यावसायिक रुपमा अलैँची खेती गर्न थालेका छन् । आठ रोपनीमा अलैँची खेती गर्नुभएका खाम्चाले अझै सात रोपनी जग्गामा विस्तार गर्ने योजना बताउनुभएको छ ।

गाउँपालिकाले अलैँची पकेट क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत चालु आवमा रु एक लाख ८७ हजार ५०० सहयोग गरेको छ । सो रकम अलैँचीको विरुवा, प्लाष्ट्रिक स्पेयर, विषादी, अलैँची सुकाउने भट्टी र फल काट्ने कैँची खरीदमा खर्च गरिने भएको छ ।

पन्ध्र हजार अलैँचीका बिरुवा खरीद गरी कृषकलाई वितरण गर्ने कार्यक्रम रहे पनि बन्दाबन्दीले लमजुङको भोटेओडारबाट बिरुवा खरीद गरेर ल्याउन समस्या परेको कृषि शाखा प्रमुख खिमराज कोइराला बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘एक वडा एक पकेट क्षेत्र कार्यक्रम अन्र्तगत यस क्षेत्रलाई पकेट क्षेत्रका रुपमा विस्तार गर्न थालिएको छ, खेती गर्न छाडिएका प्रशस्त पाखोबारी रहेको जग्गामा कृषकले अहिले अलैँची लगाएर हरियाली बनाएका छन् ।’

यहाँ उत्पादित अलैँची कृषकले प्रतिकिलो रु ६०० मुल्यमा बिकी्र गरेका छन् । अलैँची खेती शुरुआती चरणमा भएकाले गत भदौअसोजमा यहाँका कृषक एक क्वीन्टल ५० किलो उत्पादन गरी बजारमा बिक्री गर्न सफल भएका छन् । गाउँपालिकाले दुई सय रोपनी क्षेत्रफलमा अलैँची विस्तार गर्ने योजना बनाएको छ । यहाँ उत्पादित अलैँची नवलपरासीको अरुणखोला बजारमा खपत भएको छ । यसको बजार भारतलगायत अरब पनि हो ।

जिल्लामा हाल अलैँचीको झिरुवास, खाँदर क्षेत्रमा मात्र व्यावसायिक खेती गरिएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताउनुभयो । उहाँका अनुसार व्यावसायिक खेती गर्ने गरी कृषकबाट माग आएमा साझेदारीका कार्यक्रम सञ्चालन गरिने छ ।

दुई दशक अगाडि साविक कसेनी गाउँ विकास समिति वलेसका कृषकले अलँैची खेतीबाट आम्दानी गरेका थिए । त्यस समय धेरै कृषकको आम्दानीको स्रोत नै अलँैची खेती थियो । एक घरपरिवारले तीनदेखि पाँच क्विन्टलसम्म अलैँची उत्पादन गर्थे ।

अहिले निस्दी गाउँपालिकाले पकेट क्षेत्र विस्तार कार्यक्रमअन्र्तगत खाँदर क्षेत्रलाई अलैँचीको व्यावसायिक रुपमा खेती गर्न सहयोग गरेपछि कृषकको आकर्षण बढ्दो छ । अलैँची लगाउँदा खेतबारी मास्नु नपर्ने, भुइँ–डालेघाँसलगायत बोटबिरुवालाई असर नगर्ने, सामान्य गोडमेल– मलखाद– रेखदेख गरे पुग्ने, भाउ तलमाथि भए पनि सजिलै बिक्री हुने कारणले कृषकले व्यावसायिक खेती गरेर मनग्य आम्दानी लिन सक्ने जनाइएको छ । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।