व्यावसायिक कालिजपालनबाट मनग्गे आम्दानी

राँझा, १३ भदौ । बाँकेको खजुरा गाउँपालिका निवासी युवा दीपक पौडेलले व्यावसायिक कालिजपालनबाट मनग्गे आम्दानी गर्न थाल्नुभएको छ । खजुरा–४ मा व्यावसायिक कालिजपालन गर्नुभएका पौडेलले कालिजको एक दिनको चल्लालाई रु एक हजार ४०० मा बिक्री गर्ने गरेको बताउनुभयो ।

“एक दिनको चल्ला रु एक हजार ४०० मा बिक्री गर्ने गरेको छु, फार्ममै आएर चल्ला लिने गरेका छन्”, उहाँले भन्नुभयो, “खानलायक भइसकेको एउटा कालिजलाई रु तीन हजार ५०० पर्दछ ।” अष्ट्रेलियाबाट कालिजको अण्डा मगाएर फार्ममै ह्याचरिङ गरी चल्ला निकालिएको उहाँले जानकारी दिनुभयो । अहिले उहाँको खजुरा कृषि फार्ममा एक हजारभन्दा बढी कालिजका चल्ला छन् । कालिजका चल्ला फार्मबाटै धमाधम बिक्री हुने गरेका छन् ।

रु ५० लाखको लगानीमा कालिजपालन सुरु गरेको जानकारी दिँदै उहाँले दशैँसम्म हजारभन्दा बढी कालिज बिक्री गर्ने लक्ष्यसहित चल्ला हुर्काउन लागिपरेको बताउनुभयो । “दशैैँसम्म एक हजारभन्दा धेरै कालिज खानलायक बनाएर बिक्री गर्ने योजना छ”, उहाँले भन्नुभयो, “दशैँभन्दा पहिले नै कालिज बिक्रीका लागि तयार भइसक्छन्, कालिजको माग जिल्लामा अत्यधिक छ ।”

बाँकेमा कालिजपालनका लागि सबैभन्दा ठूलो चुनौती तापक्रम रहेको छ । कालिजले ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रम सहन सक्दैन तर बाँकेमा गर्मीमा ४२ डिग्री सेल्सियससम्म तापक्रम पुग्छ । त्यसका लागि सकेसम्म धेरै गर्मी हुन नदिन व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । कालिजलाई राख्नका लागि पौडेलले जाली लगाउनुभएको छ । कालिजले घाँस, दाना, मकै, गहुँ खान्छन् ।

बाँकेजस्तो गर्मी हुने स्थानमा कालिजको व्यावसायिक पालन चुनौतीपूर्ण रहेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका डा भूपेन्द्र ओलीले जानकारी दिनुभयो । उहाँले कालिजको व्यावसायिक पालन चिसो ठाउँमा सम्भव हुने भएकाले गर्मीमा कालिज पालन फस्टाउन गाह्रो हुने भए पनि असम्भव भने नभएको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले नयाँ व्यवसायका रूपमा युवा किसान पौडेलले व्यावसायिक कालिजपालन गरेर गाउँपालिकालाई नै चिनाउने काम गरेको सुनाउनुभयो । उहाँले इच्छाशक्ति भए जस्तोसुकै काम पनि गर्न सकिने र सम्भव हुने कुरा पौडेलले कालिजपालन गरेर प्रमाणित गरेको जनाउँदै गाउँपालिकाबाट पौडेललाई व्यावसायिक कालिजपालनका लागि हरप्रकारको सहयोग गर्न आफू तयार रहेको बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।