तरकारी र फलफूल महँगियो

बागलुङ, २३ भदौ । ढुवानी ठप्प हुँदा यहाँ तरकारी र फलफूल महँगिएको छ । पोखरा–बागलुङ सडक खण्डमा पहिराले बिहीबारदेखि यातायात सेवा अवरुद्ध भएपछि तरकारी र फलफूल ढुवानी गर्न सकिएको छैन ।

व्यापारीले मनपरी मूल्य बढाएको उपभोक्ताको गुनासो छ । व्यवसायी भने दोब्बर भाडा तिरेर ढुवानी गर्नुपरेकाले मूल्य बढाउनु परेको बताउँछन् । स्थानीय किसानबाट खरिद गरेको तरकारी यसै पनि महँगो पर्ने गरेको उहाँहरुको गुनासो छ । एक साताअघि रु ६० पर्ने गोलभेँडा अहिले रु एक सय २० मा खरिद गर्नुपरिरहेको व्यवसायी नारायण सुवेदीले बताउनुभयो ।

“स्थानीय उत्पादन न्यून भएकाले खरिद महँगो पर्छ, अब त्यही पनि पाइन छाडेको छ”, उहाँले भन्नुभयो । यहाँ पोखरा, चितवनलगायत ठाउँबाट तरकारी ल्याइने गरिन्थ्यो । स्थानीय उत्पादनले मात्र धान्न सक्ने स्थिति छैन । तरकारी आयात ठप्प भएपछि स्थानीय किसानले उचित मुल्य नपाएको व्यवसायी बताउँछन् ।

वर्षा याम सकिनै लाग्दा बजारमा तरकारी अभाव भएको छ । त्यहीँमाथि ढुवानी नै गर्न नसकिएपछि थप समस्या निम्तिएको छ । तीजमा उपभोक्ताले चाहेअनुसारको किनमेल गर्न पाएका छैनन् । फलफूलको भाउ पनि छोइनसक्नु छ । व्यवसायी विजय आले बुटवलबाट गलकोटहुँदै फलफूल ढुवानी गर्नुपरिरहेकाले दोब्बर भाडा तिर्नुपरिरहेको बताउनुहुन्छ । एक किलो स्याउ रु तीन सयमा किन्नु परेको स्थानीयवासी उमाकुमारी पौडेलले बताउनुभयो । केही दिनअघिसम्म एक किलो स्याउको मूल्य रु एक सय ५० थियो।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्यलाल विक व्यवसायीले मनपरी ढङ्गले मूल्य लिन नपाउने बताउनुहुन्छ । आजैदेखि बजार अनुगमन थालिएको उहाँको भनाइ छ । “अनुगमनका क्रममा बढी मूल्य लिएको पाइएमा व्यवसायीलाई कारबाही हुन्छ”, विकले भन्नुभयो । प्रशासन, प्रहरी, बागलुङ नगरपालिका, उपभोक्ता मञ्चलगायत सरोकार भएका पक्ष मिलेर अनुगमन थालेका हुन् ।

चाडबाडमा बजारमा वस्तुको मूल्य मनपरी लिने व्यवसायीको पुरानै प्रवृत्ति हो । यसैमाथि ढुवानी रोकिएको नाममा कृतिम अभाव सिर्जना गरेर मूल्य बढाउने व्यवसायी पनि यसबेला सक्रिय छन् । सडक सम्पर्क टुट्दा तरकारी÷फलफूल मात्र होइन अन्य दैनिक उपभोग्य सामानको पनि अभाव भएको छ । इन्धनको ढुवानीसमेत रोकिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।