प्रचण्डले संसद्मा सुनाए कांग्रेससँग गठबन्धन तोड्नुको कारण
काठमाडौं, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (माओवादी केन्द्र) ले कांग्रेसलाई सघाए जसरी आफूले सहयोग नपाएको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले त्यसले आपसी विश्वास कमजोर बनाएको बताए ।
साथै, निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने सहमतिबाट पनि कांग्रेसको नेतृत्व पछि हटेको उनले बताए । एउटा परिस्थतिमा गठबन्धन जोडिएपछि कोशी प्रदेशमा कांग्रेसको एउटा समूहले माओवादीका विरुद्ध विद्रोह नै गरेको उनको भनाइ छ । गठबन्धनको नैतिकताको कसीमा त्यो “विद्रोह” दण्डित हुनुपर्नेमा पुरस्कृत भएको उनले बताए ।राष्ट्रिय सभा निर्वाचनमा त्यो समूहले माओवादी उम्मेदवारलाई अन्तरघातबाट पराजित गराएको उनको निश्कर्ष छ ।
साथै, कांग्रेस महासमिति बैठकमा विना सन्दर्भ गठबन्धनको निन्दा भएको उनले बताए । माओवादीसँगको गठबन्धनले नै कांग्रेसलाई पहिलो पार्टी बनाए पनि निर्वाचन आउन चार वर्ष बाँकी छँदै गठबन्धनका साझेदारहरूमाथि अनावश्यक र बेसमयको मानमर्दन कतैबाट पनि विवेकपूर्ण र राजनीतिक नभएको प्रचण्डको ठहर छ ।
साथै, कांग्रेसको महासमिति बैठकमा स्टल नै राखेर धर्मका नाममा हस्ताक्षर अभियान चलाइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उक्त कार्यले कांग्रेसको संविधानप्रतिको प्रतिवद्धतामै आशंका जनाउन सक्ने जमिन तयार गरेको प्रचण्डले बताए । महासमितिमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा माओवादी जनयुद्धको न्यूनीकरण मात्र नभएर दानवीकरण नै गरेको उनको निश्कर्ष छ । कांग्रेसले ०४७ सालकै संविधान ठीक भएको आशयको प्रतिवेदन वितरण गरेको उनले बताए । यसरी हिजो मिलिसकेका सैद्धान्तिक र वैचारिक विषयमा समेत शंका र अविश्वासको वातावरण बनेको उनले बताए ।


