डेंगु नियन्त्रणका लागि सरोकारवालको सहकार्य र समन्वय जरुरी ः मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सबैको सहकार्य र समन्वयले डेंगु नियन्त्रण गर्न सकिने बताउनुभएको छ ।
बुधबार महानगरले आयोजना गरेको सरोकारवालाहरुसँगको अन्तरक्रियामा मेयर कोइरालाले मनसुनसँगै विभिन्न जिल्लामा डेंगुको संक्रमण बढ्दै गएकाले महानगरले पनि १९ वटै वडामा डेंगु नियन्त्रणको अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले ‘खोज र नष्ट गर’ अभियान सबै वटाका टोल–टोलमा स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम्सेविका, स्थानीयलगायतको उपस्थितिमा सञ्चालन भइरहेको बताउनुभयो ।

‘बेलैमा हामी सजग भयौं भने डेंगुको संक्रमण फैलिनबाट रोक्न सक्छौं,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि घरभित्रको फ्रिज, कुलर, बाल्टिङ, गमलालगायतमा पानी जम्न दिनहुँदैन । घर वरिपरि पानी जम्न नदिने हो भने डेंगु फैलिन पाउँदैन । त्यो काम स्वयम् घरधनीले नै गर्न सकिन्छ । महानगरवासी सबैले आफ्नो घर वरिपरि पानी जम्न नदिएमा डेंगुको संक्रमणबाट बच्न सकिन्छ ।’

उहाँले महानगरको एक्लो प्रयासले मात्रै डेंगु नियन्त्रण हुन नसक्ने उल्लेख गर्नुभयो ।

अन्तरक्रियामा मोरङ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सुरेश मेहताले एक्कासि उच्च ज्वरो आउनु (१०२ डिग्री), ५ देखि ६ दिनसम्म ज्वरो नघट्नु, आँखाको जेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशीहरु दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा राता बिमिराहरु देखापर्नेजस्ता लक्षणहरु देखिने जानकारी दिनुभयो ।

मेहताले डेंगुको भाइरस लामखुट्टेबाट व्यक्तिमा सर्ने बताउनुभयो । एडिस लामखुट्टेको माध्यमबाट सर्ने डेंगु भाइरसको नेपालमा विभिन्न प्रजाति रहेको उहाँले जानकारी दिनुभयो । मेहताका आनुसार एडिस एजिप्टि नाम रहेको लामखुट्टेको महिला प्रजाति डेंगुका प्रमुख भेक्टर हुन् । ‘दिनमा मान्छेको रगत चुसेर बाँच्ने यो प्रजाति मानिसको शरीरको प्राकृतिक गन्धबाट आकर्षित भई धेरैमा रोग सार्ने क्षमता राख्दछन् । भेक्टरले टोकेपछि भाइरसलाई मानिसको रगतमा जम्मा गर्छ र मानिसको शरीरमा फैलिन्छ,’ उहाँले भन्नुभयो, ‘रगत खाइसकेपछि यसले ताजा पानि जम्मा गरेको भाँडाकुँडा खोजेर अण्डा पार्ने गर्छ । एउटा पानीको स्रोतमा १०० देखि २०० सम्म अण्डा पार्न सक्छ भने एकपटकमा कैयौं स्रोतमा अण्डा जम्मा गर्छ । यसका अण्डा निर्जलीकरण प्रतिरोधात्मक भएकाले यस भेक्टरको जनसंख्या तीव्र गतिमा बढ्ने गरेको छ ।’ संक्रमित व्यक्तिको रगत चुस्दा भाइरस नबोकेको लामखुट्टेमा भाइरस पसि संक्रमण प्रक्रिया बढाउने उहाँको भनाइ छ । उहाँका अनुसार एकपटक संक्रमण भएपछि मानिसमा त्यस प्रजातिको भाइरसबाट जीवनभरलाई इम्युनिटी मिल्छ ।

अन्तरक्रियामा वडाध्यक्षहरु कुमार पोखरेल, वासुबहादुर बस्नेत, मधुबाबु तिवारी, विश्वनाथप्रसाद भगत, अर्जुन गिरी, अफिनका कोशी प्रदेश अध्यक्ष डा. शंकर अधिकारी, जनस्वास्थ्य विज्ञ कैलाश खाकी श्रेष्ठ, आदर्श माविका प्राचार्य सन्तोष पोखरेललगायतले डेंगुको फैलिन नदिन सबै नागरिक सचेत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले घरभित्र र वरिपरि पानी जम्न नदिएमा डेंगु नफैलिने दाबी गर्नुभयो । महानगरले अब शैक्षिक संस्थाहरुमा समेत गएर विद्यार्थीलाई डेंगुका विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादवले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।