धनकुटामा सञ्चालित १८औँ संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि बेलबारी फुटबल क्लबलाई
धनकुटा । बेलबारी फुटबल क्लबले धनकुटामा सञ्चालित १८औँ संस्करणको सहिद भीमनारायण गोल्डकप को उपाधि जितेको छ ।
जेठ १६ गते सम्पन्न भएको फाइनल खेलमा बेलबारीले आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान लाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको हो । निर्धारित समयमा दुवै टोली गोलरहित बराबरीमा रोकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
टाइब्रेकरमा बेलबारीका सोलमन किङ, शिशिर लेखे, विदेशी खेलाडी मुटिभ, विशाल थिङ र स्याम मुरमुरले गोल गरे । बेलबारीका विवेक पौडेलको प्रहार भने गोलरक्षकले रोकेका थिए ।
यता आयोजक टोलीका विवेक गुरुङ तथा विदेशी खेलाडी फेमिर ओलायामी ताइव र प्रीसोले गोल गरेका थिए । तर पृथ्वी चौधरी र राम वाजीको प्रहार गोलमा परिणत हुन सकेन ।
उपाधिसँगै बेलबारीले ६ लाख रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको आयोजक टोलीले ३ लाख रुपैयाँ नगदसहित ट्रफी हात पारेको छ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीका रूपमा बेलबारीका विवेक पौडेल घोषित भए । उनले नगद ६ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।


