पार्टी को नेतृत्व गर्दै सरकारमा जान इच्छुक माओवादीका यी ६ नेता
काठमाडौैं, ४ फागुन । एमाले र माओवादी पार्टी एकताको सैद्धान्तिक विमतिका कारण माओवादी सरकारमा नगएको भनिए पनि पार्टीको तर्फबाट सरकारमा नेतृत्व गर्ने नेतामा सहमति जुटाउन ढिलाई भएका कारण क्याविनेट गठनमा माओवादी सामेल नभएको खुलेको छ ।

एकतापछि लिने सैद्धान्तिक बाटोबारे अहिले मिलेका कुरा मिलाउने र नमिलेका कुरा बहसमा लगेर महाधिवेशनबाट हल गर्ने दुवै पार्टीका शीर्ष नेताबीच सहमति भइसकेको छ । सरकारमा सामेल हुने कुरामा भने माओवादीबाट कसले नेतृत्व गर्ने भन्ने विषयमा पार्टी भित्र टुंगो लाग्न सकेको छैन ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादीको तर्फबाट नेतृत्व दावी गर्ने ५ जना नेता छन् । उनीहरु मध्ये कसलाई सरकारमा पार्टीका तर्फबाट नेतृत्व दिने भन्नेमा निक्र्याैल भएको छैन । माओवादी नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, टोपबहादुर रायमाझी र अग्नी सापकोटा सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरी सहभागि हुन इच्छुक देखिएका छन् । राष्ट्रियसभा अध्यक्ष बनाउने तयारी गरिएका नेता रामबहादुर थापा वादल पनि सकेसम्म पार्टीको नेतृत्व गरी सरकारमा जाने सोचमा छन् ।
उनीहरु मध्ये सरकारमा कसले नेतृत्व गरेर जाने भन्नेमा छलफल नभएका कारण माओवादीले मन्त्रिपरिषद गठनमा आफ्नो प्रतिनिधित्व गराएन । तर, सरकार र पार्टी एकतामा वार्गेनिङ बढाउन यसलाई पार्टी एकतापछिको सिद्धान्तमा कुरा नमिलेको भनी बाहिर आएको छ । स्रोतका अनुसार माओवादीको आन्तरिक बैठकमा सरकारमा नेतृत्व गरी जाने ब्यक्तिको टुंगो लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी मन्त्रीहरुलाई सपथ गराउनेछन् ।
पेचिलो वार्गेनिङ
वाम गठबन्धन बनाई चुनावमा जाँदा एमाले र माओवादी दुवैले चुनावपछि बन्ने सरकार ५ वर्षका लागि भएको वताएका थिए । उनीहरुले ५ वर्षे स्थिर सरकार बनाउन आफूहरु चुनावी तालमेल गरी मत माग्न आएको र भविश्यमा पार्टी एकता गर्ने घोषणा मतदाताबीच गरेका थिए । तर, अहिले कार्यकाल बाँडेर सरकारको नेतृत्व आलोपालो हुनु पर्ने प्रस्ताव माओवादीका तर्फबाट आएको छ ।
दुई दलले चुनावमा दलले प्राप्त गरेको हैसियतमा शक्ति बाँडफाँड गरी पार्टी एकीकरण गर्ने बटमलाईन पहिले नै बनाएका थिए । तर, आन्तरिक बाँडफाँडमा भने एमाले र माओवादी एक–अर्काको भावनालाई सम्मान गर्न बाँडफाँडको उक्त सिद्धान्तभन्दा बाहिर गइसकेका छन् । त्यसको पछिल्लो उदाहरणका रुपमा प्रदेश ६ को मुख्यमन्त्री माओवादीका भागमा पर्नुबाट देखिन्छ । एमाले एक्लैको बहुमत भएको प्रदेश ६ मा एमालेले मुख्यमन्त्रीमा माओवादीलाई समर्थन गरेको छ । एमाले संसदीय दलका नेता यामलाल कंडेलले आफ्नो दलको एकल बहुमत रहेका ठाउँमा अहिले माओवादीले नेतृत्व गरे पनि मुख्यमन्त्रीमा आलोपालो गर्नु पर्ने माग पार्टी नेतृत्वसँग गरेका थिए । तर, एमाले एक्लैको बहुमत नभएका ठाउँमा समेत आलोपालो गर्न नमानेको माओवादीले संघीय सरकारमा भने आलोपालो गर्नुपर्ने अडान राखेको छ ।
माओवादीले मुख्यमन्त्री पाएका प्रदेशहरुमा पनि माओवादीको हैसियत तेस्रो हो । पहिलो शक्ति र कतिपयमा एक्लै बहुमत भएको अवस्थामा पनि माओवादीलाई मुख्यमन्त्री दिन एमाले सहमत हुनु एकताको स्पिरिटमा जाने प्रयासका रुपमा लिइएको छ । एमाले एक्लैको बहुमत भएका ठाउँमा पनि मुख्यमन्त्रीको पूर्ण कार्यकाल दावी गरेको माओवादीले संघीय सरकारमा आलोपालो नेतृत्व दावी गर्नुलाई उच्च तहको वार्गेनिङका रुपमा लिन सकिन्छ । दुई पार्टी एकता नै भइसकेपछि दुवै पार्टीको अलग अस्तित्व सकिने भएकाले पनि यसलाई गठबन्धनले मिलाउने अपेक्षा गरिएको छ ।


