प्रदेश नं ४ मा मुख्यमन्त्री, सभामुख र मन्त्रीद्वारा शपथ ग्रहण र पद बहाली : दुई सदस्यीय मन्त्रिपरिषद् गठन

पोखरा, ४ फागुन । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी र मन्त्री रामशरण बस्नेतले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

प्रदेश प्रमुखको पोखरास्थित सरकारी निवासमा प्रदेश प्रमुख बाबुराम कुँवरले उहाँहरूलाई शपथ ग्रहण गराउनुभयो ।

शपथ ग्रहण समारोहमा प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठ, प्रदेशसभाका सदस्य, प्रतिनिधि एवं राष्ट्रियसभाका सदस्य, राजनीतिक दलका प्रतिनिधि, प्रदेशका प्रमुख सचिव लक्ष्मण अर्यालसहित उच्च सुरक्षा अधिकारी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

दुई सदस्यीय मन्त्रिपरिषद्

मुख्यमन्त्री गुरुङले आजै दुई सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।

प्रदेश प्रमुखको पोखरास्थित सरकारी निवासमा आज आयोजित शपथ ग्रहण समारोहमा प्रदेश सचिव देवीप्रसाद ज्ञवालीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मन्त्रिपरिषद् गठनको पत्र प्राप्त भएको जानकारी गराउँदै त्यसको व्यहोरा बाचन गर्नुभएको थियो ।

गठित मन्त्रिपरिषद्मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मा रामशरण बस्नेतलाई तथा अन्य मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री गुरुङ स्वयंले लिनुभएको छ । मन्त्री बस्नेतले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले बसिरहेको छ ।

पद बहाली

प्रदेश नं ४ का नवनियुक्त मुख्यमन्त्री गुरुङ, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री बस्नेत र सभामुख अधिकारीले आजै पद बहाली गर्नुभएको छ ।

सभामुख अधिकारीले पार्दीस्थित शहीद पार्कमा पुगेर शहीदको शालिकमा माल्यार्पण गरी नदीपुरस्थित सभामुखको कार्यालयमा पुगी पद बहाली गर्नुभयो भने मुख्यमन्त्री गुरुङ तथा बस्नेत आजै पुष्पलाल स्मृति पार्कमा पुगी पुष्पलालको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।