पर्यटक भित्र्याउन जुर्मुराए पाल्पाली

पवित्रा घिमिरे/तानसेन, जेठ २५ गते । पाल्पामा पर्यटकीयस्थलको निर्माण तथा पुनःनिर्माणको कामको थालनीले स्थानीय युवालाई रोजगार मिलेको छ । स्थानीय तहले विकासनिर्माणका कामलाई जोड दिँदै आआफ्ना तवरले प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रमलाई अगाडि बढाइरहँदा निस्दी गाउँपालिका, रामपुर र तानसेन नगरपालिकालगायतले भने कोरोना संकटमा गरिएको बन्दबन्दीमा पनि पर्यटन पूर्वाधार विकासलाई जोड दिएका छन् ।

अन्य क्षेत्रका युवालाई कच्ची मोटरबाटो निर्माण तथा सरसफाइ एवं जङ्गलमा झाडी फँडानी, खेलमैदान र नालीनिर्माणलगायत काममा परिचालन गरिए पनि महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका निम्ति युवालाई निस्दीको लेकडाँडामा पोखरी निर्माणमा खटाइएको गाउँपालिकाले जनाएको छ ।

निस्दीका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष मेखबहादुर सुनारीका अनुसार गत वर्ष औषधिजन्य बिरुवा रोपिएका क्षेत्रमा यस वर्ष पनि बिरुवा रोपिने छ । त्यस्तै लेकडाँडामा दुई पोखरी र तथा गोलघर निर्माण गर्न लागिएको छ । रु। १० लाखको लागतमा लेकडाँडामा तीन गोलघर निर्माण गरिँदैछ ।
पर्यटन विकासमा टेवा पुग्ने गरी करीब रु साढे दुई लाखको लागतमा दुई लेकडाँडा पोखरी निर्माणको काम थालिएको रोजगार उपभोक्ता समितिका थमबहादुर खन्गाहाको भनाइ छ । त्यस्तै सिलुवा– मित्याल– अर्चले मोटरबाटोको खाल्डाखुल्डी पुर्ने तथा नाली खन्ने कार्य पनि अगाडि बढाइनेछ । पोखरी निर्माणको कामका लागि ३६ युवा परिचालन गरिएको छ ।

खाली जग्गामा गत वर्ष जिल्ला वन कार्यालय पाल्पाबाट करीब रु चार लाखको टिमुरको बिरुवा तथा पूर्वाधार विकास कोषअन्तर्गत सांसद दलबहादुर रानाबाट सांसद विकास कोषको रु १० लाख लागतमा ३२ हजार तेजपात, ६ हजार टिमुर तथा ७५ हजार अम्रिसो र १५ हजार दालचिनीको बिरुवा रोपिएको थियो ।

निस्दीका सातदोबाटो, अधमरा, धोवला, नारीभन्ज्याङलगायत क्षेत्रका १६९ घरपरिवारका नागरिकले बिरुवा रोपेका हुन् । गौचरनका रुपमा रहेको जंगललाई कबुलियती वनका रुपमा विकास गर्ने उद्देश्य छ । खाली रहेका जग्गामा विरुवा रोपण गरेपछि पहिरो जानबाट रोकिने, आम्दानी लिन सकिने र लेकभेगको सुन्दरता हेर्न सकिने भएकाले विभिन्न ठाउँबाट आउने पर्यटकलाई यस क्षेत्रसम्म ल्याइने योजना छ ।

एक सय ६० हेक्टर क्षेत्रफलमा वृक्षरोपण गर्ने योजना अनुसार पोहोर साल ७५ हेक्टर क्षेत्रफलमा बिरुवा रोपिएको लेकडाँडा कृषि पशु वन व्यवसायी उत्पादन समितिका अध्यक्ष कृष्ण सुनारीले जानकारी दिनुभयो । वन क्षेत्रमा रोपिएका विरुवाको उत्पादनले धेरै आम्दानी हुने र स्थानीयस्तरमा आर्थिक विकासको बाटो सिर्जना गर्न सकिने सुनारी बताउनुहुन्छ ।

निस्दी –७ ज्यामिरे पोखरीछापलाई दालचिनीको पकेट क्षेत्रका रुपमा विकास गरिने लक्ष्य छ । निस्दी –३ झिरुवासको काउलेडाँडामा इलामको चियाबारीको झल्को दिने गरी अम्रिसो खेतीको विकास गरिएको छ ।

निस्दीमा स्थानीय उत्पादन, संस्कृति, लोपोन्मुख कुडुलेघर, ज्यामिरेको केराखेती, लोभलाग्दो अम्रिसो खेती, तराईका भूभाग र नेपाल भारत सीमाक्षेत्र अवलोकन गर्न सकिने छ । लेकडाँडाको पूर्वाधार निर्माणसँगै थुप्रै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य गाउँपालिकाको छ । लेकडाँडा सदरमुकाम तानसेनबाट करीब ७० किलोमिटर पूर्व पर्छ ।

नेपालका एक सय पर्यटकीय गन्तव्यस्थलमध्ये सूचीकृत रामपुर तालपोखरामा पनि बन्दाबन्दीकै समयमा पुनःनिर्माणको काम भएको छ । अठार युवा परिचालन गरेर करीब रु २० लाख बराबरको काम भइरहेको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा बताउनुहुन्छ । तालको वरपर करीब पाँचसय मिटर लम्बाइमा टायल टाँस्ने, उद्यान वरपर फुटपाथ, चौतारी तथा फूलबारी निर्माणको काम भइरहेको समितिले जनाएको छ । निर्माणको काम करिब ९० प्रतिशत भइसकेको छ ।

प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रमअन्तर्गत रामपुरका १० युवाले लक्ष्मीनारायण मन्दिर परिसरमा सरसफाइ तथा करीब १५० बोट फलफूल र १०८ पीपलको बिरुवा गोडमेल, शालिग्राम स्तम्भ नजिक इँटा बिच्छ्याउने काम गरिरहेको लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी जानकारी दिनुहुन्छ ।

बन्दाबन्दीले न काम न दाम भएर बसेका युवा यसरी सामाजिक दूरी कायम गरेर रोजगारी मिलेपछि खुशी छन् । पहिलो चरणमा स्थानीय तहबाट राहत पाएका युवा राहतले मात्रै सधैंँभरिको समस्या नटर्ने बताउँदै काम पाउँदा हर्षित बनेको अध्यक्ष देवकोटा बताउनुहुन्छ ।

तानसेन बजारको सुन्दरता कायम राख्न पुरानै शैलीका सडकमा ढुङ्गा छाप्न, रामपुरको राम्चेवन पर्यटकीयस्थल निर्माण गर्न तथा श्रीनगरमा सांस्कृतिक डबली निर्माण गर्न युवालाई खटाइएको छ । तानसेन नगरपालिकाले युवालाई नाली सरसफाइमा परिचालन गरेको छ । सडक छेउछाउका नाली सफा नगर्ने हो भने सडकको समस्या थपिने हुँदा यसमा तिनलाई परिचालन गरिएको नगर उपप्रमुख लक्ष्मीदेवी पाठकले जानकारी दिनुभयो ।

तिनाउ गाउँपालिकामा पर्यटन विकासकै लागि रु ५० लाख बराबरको काम भइरहेका छन् । तिनाउ –२ मा आकाशेपुल, ट्रस र रेलिङसहितको बाटो, दृश्यावलोकन भवन, अविरल उद्यान निर्माण तथा जन्तीलुङ घरबास निर्माण भइरहेको छ । उद्यानका निम्ति २२ तन्नेरीले निरन्तर काम गरिरहेको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठ बताउनुहुन्छ । महत्वपूर्ण धार्मिकस्थल तिनाउको सत्यवतीताल क्षेत्रमा शौचालय निर्माण र सुकेतालको स्तरोन्नतिका कामसमेत गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

सिद्धार्थ राजमार्गसँग जोडिएको तिनाउ महत्वपूर्ण पालिका पनि भएकाले प्रदेश नम्बर ५ सरकारसँग समन्वय गरेर कृषि तथा पर्यटकीय क्षेत्रको विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिनुभयो । पाल्पाका तानसेन र रामपुर नगरपालिका तथा निस्दी, पूर्वखोला, तिनाउ, रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकामा प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम लागू भइसकेको छ भने बगनासकाली र माथागढी गाउँपालिकामा शुरु हुन बाँकी छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।