बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रको काम पुनः शुरु

गलकोट, जेठ २७ गते । बन्दाबन्दीका कारण प्रभावित बनेको बागलुङ जिल्लाको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्र गर्ने कार्य पुनः शुरु भएको छ । बाह्रै महिना विमानस्थल सञ्चालनार्थ धावनमार्ग कालोपत्र गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्कामार्फत गत फागुनमा काम शुरु गरेको भए पनि बन्दाबन्दीका कारण चैत दोस्रो साताबाट निर्माण कार्य रोकिएको थियो ।

धावनमार्ग कालोपत्र गर्न प्राधिकरणले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु चार करोड रकमले कालोपत्रको काम प्रारम्भ गरिएको थियो । आगामी आर्थिक वर्षमा धावनमार्ग अगाडि बढाउन पुनः रु तीन करोड रकम छुट्याइने बागलुङबाट निर्वाचित सङ्घीय सांसद डा सूर्य पाठकले जानकारी दिनुभयो । विमानस्थलको कालोपत्र गर्ने गरी ठेक्का सम्झौता भएर निर्माणको काम अगाडि बढेको भए पनि बन्दाबन्दीले केही ढिला भएको निर्माण कम्पनीले जनाएको छ ।

आगामी २०७७ फागुन महिनाभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र सक्ने गरी प्राधिकरणले काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी, बल्खुसँग रु सात करोडमा ठेक्का सम्झौता गरेको छ ।

ठेक्का सम्झौता भएलगतै धावनमार्ग कालोपत्र गर्नका लागि अवश्यक पूर्वाधार निर्माण शुरु गरे पनि बन्दाबन्दीका कारण काम प्रभावित भएको थियो । सरकारले विकास निर्माण अगाडि बढाउने भनेपछि पुनः कालोपत्रका लागि पूर्वाधार निर्माण थालिएको काष्ठमण्डप उमा एण्ड कम्पनी जेभीका आधिकारिक प्रतिनिधि दिनेश रिजालले जानकारी दिनुभयो ।

“हामीले ठेक्का सम्झौता हुँदासाथ बलेवा विमानस्थलमा आवश्यक कामको थालनी गरेका थियौँ”, रिजालले भन्नुभयो, “धावनमार्गको कटिङसमेत सक्ने अवस्थामा पुग्दा बन्दाबन्दी शुरु भयो, अहिले पुनः काम थालेका छौँ ।” शुरुमा विमानस्थलको धावनमार्ग र विमान पार्किङस्थल कालोपत्र हुने भागलाई कटिङ गरेको र काम नरोकिए असार मसान्तसम्म धावनमार्ग ग्राभेल गर्ने निर्माण कम्पनीका फिल्ड इन्चार्ज वासु थापाले जानकारी दिनुभयो । कालोपत्रका लागि आवश्यक पूर्वाधार निर्माण भएमा असारपछि कालोपत्र थालिने थापाको भनाइ छ ।

छब्बीस वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा विसं २०७४ चैत ९ गतेबाट पुनः सञ्चालनमा आएर नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सले केही महिना उडान भरे पनि आवश्यक पूर्वाधार अभावमा अहिले बन्द छ । बागलुङ–१४ नारायणस्थानमा रहेको विमानस्थलमा कच्ची धावनमार्ग, विमानस्थलसँग पुग्ने सडक कालोपत्र नहुनुलगायतका समस्याका कारण २६ वर्षपछि सञ्चालनमा आएको विमानस्थल पुनः बन्द भएपछि प्राधिकरणले विमानस्थलको धावनमार्ग कालोपत्रका लागि पहिलो चरणमा रु चार करोड बजेट विनियोजन गरेको हो ।

सांसद डा पाठकले तीन वर्षमा पूर्णरूपमा विमानस्थल सञ्चालनमा ल्याउने गरी विमानस्थलको धावनमार्गबाहेकको टर्मिनल टावर मर्मतलगायतका अन्य संरचना निर्माण गर्ने विषयमा समेत छलफल भइरहेको बताउनुभयो ।

साविक धवलागिरि अञ्चलको बागलुङ, पर्वत र म्याग्दीका जनतालाई हवाई सेवा प्रदान गर्ने गरी पूर्वाधार निर्माणका लागि नगरपालिकाले सक्दो साझेदारी गर्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर कालोपत्र हुनसकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने सरोकारपक्ष बताउँछन् । एक वर्षअघि यात्रु कम हुँदाको रकम नगरपालिकाले सुनिश्चितता गरी हप्तामा दुई दिन नेपाल एयरलाइन्स र तारा एयरको टु इनअटर विमानले उडान भरे पनि बर्खाको समय धावनमार्गमा हिलो र हिउँदमा धुलो उड्ने समस्या भएपछि विमानस्थल बन्द भएको थियो । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।