क्वारेन्टाइन व्यवस्थापनमा समस्याः त्रिपाल लगाउने तयारी

दुर्गा देवकोटा

लम्की, जेठ २२ गते । भारतलगायत देशका विभिन्न स्थानबाट नागरिक घर फर्कन थालेपछि कैलालीका स्थानीय तहलाई क्वारेन्टाइन व्यवस्थापनमा समस्या भएको छ । स्थानीय तहमा भएका सार्वजनिक भौतिक संरचना भरिभराउ भएपछि वाहिरबाट घर फर्किएका नागरिकको व्यवस्थापनमा समस्या भएको हो ।

कैलालीको जानकी गाउँपालिकाले पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा क्वारेन्टाइन स्थापना गरिसकेको छ । अब आउने नागरिकलाई राख्नका लागि टेण्ट लगाउनुपर्ने अवस्था आएको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताउनुभयो । “सबै सामुदायिक विद्यालय र सामुदायिक भवनमा क्वारेन्टाइन बनाइसक्यौँ”, उहाँले भन्नुभयो, “धान्न नसक्ने अवस्था आएको छ । भारत तथा नेपालकै अन्य जिल्लाबाट भित्रिने नागरिक रोकिएका छैनन् । अब टेण्ट लगाएर राख्ने तयारीमा छौँ ।” गाउँपालिकाले १७ स्थानमा क्वारेन्टाइन स्थापना गरेको छ । क्वारेन्टाइनमा राखेकालाई खानपानदेखि सबै व्यवस्थापन गर्न कठिन भएको गाउँपालिकाले जनाएको छ ।

जानकी गाउँपालिका जस्तै जोशीपुर गाउँपालिकामा पनि क्वारेन्टाइन बनाउने भौतिक संरचनाको अभाव भएको छ । सामुदायिक विद्यालयका भवनमा क्वारेन्टाइन बनाएर सकिसकेको र दिनप्रतिदिन नागरिक थपिन थालेपछि क्वारेन्टाइन बनाउने ठाउँको समस्या देखिएको हो ।

क्वारेन्टाइनमा बस्ने नागरिकको सङ्ख्यामा वृद्धि हुँदा गाउँपालिकाले धान्न नसक्ने भएपछि क्वारेन्टाइनमा बसेकाले खानाको व्यवस्थासमेत आफैँले गर्न थालेको जोशिपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले बताउनुभयो । “हामीकहाँ १७ स्थानमा क्वारेन्टाइन स्थापना गरेका छौँ, सबै विद्यालयमा नागरिक भरिभराउ छन्, गाउँपालिकाले व्यवस्थापन गर्न नसक्ने अवस्था आएपछि आफन्तले घरबाट खाना ल्याइदिने गरेका छन्”, उहाँले भन्नुभयो, “क्वारेन्टाइनमा बसेकाको स्वास्थ्य परीक्षण, बासको व्यवस्थाजस्ता कार्य हामीले गरेका छौँ ।”

टीकापुर नगरपालिकामा पनि १७ वटा क्वारेन्टाइनमा एक हजार १७३ जना बसिरहेका छन् । टीकापुर नगरपालिकाले भने क्वारेन्टाइनमा बसेका नागरिकलाई खानालगायत सबै व्यवस्था आफैँले गरेको छ । टीकापुर भित्रिने मानिसको सङ्ख्या बढ्न थालेपछि आउँदा दिनमा समस्या हुन सक्ने भन्दै नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापनमा सहयोग गर्न नगरवासीलाई अनुरोध गरेको टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले बताउनुभयो । “पूर्वाधारका हिसाबले क्वारेन्टाइन बनाउन मिल्ने सबै विद्यालय सकिएका छन्”, उहाँले भन्नुभयो, “हामीले निजी विद्यालयसँग क्वारेन्टाइन बनाउने विषयमा छलफल गरेका छाँै । दैनिक सयौँ नागरिक आउन थालेका छन् ।”

स्थानीय तहमा क्वारेन्टाइनमा बसेका नागरिकको परीक्षणका लागि आवश्यक किटको पनि समस्या छ । किट अभावले क्वारेन्टाइनमा बसेका नागरिकको परीक्षणमा ढिलाइ भइरहेको छ । उनीहरुको कोरोना परीक्षणका लागि आवश्यक किट र अन्य स्वास्थ्य सामग्री उपलब्ध गराउन प्रदेश तथा सङ्घीय सरकारलाई आग्रह गरेको जोशीपुरका अध्यक्ष चौधरीले बताउनुभयो । स्थानीय तहले यो महामारीबाट बच्न एउटै स्थानीय तहले केही गर्न नसक्ने भन्दै त्यसमा सघाउन सबै नागरिकलाई आग्रह गरेका छन् ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।