रेडियोबाट पढाइ सुरु, विद्यार्थी र शिक्षक उत्साहित

सोलुखुम्बु, जेठ २३ । जब बिहान ७ र साँझको ६ बज्छ, तब गाउँगाउँका बालबालिका बिहान १० बजेको समयमा विद्यालय हिँडेझैँ रेडियो नजिक पुग्छन्।

यहाँका स्थानीय रेडियोको प्रसारण साँझ, बिहानमात्रै होइन २४ सै घण्टा हुने भए पनि साँझ र बिहान ती बालबालिकाका लागि सबैभन्दा नजिकको साथी रेडियो बन्नुको मुख्य कारण छुट्टै छ।

बन्दाबन्दीका कारण विद्यालय शिक्षाबाट वञ्चित रहेका कक्षा १ देखि ८ सम्मका विद्यार्थी लक्षित (रेडियोबाट सिकाइ) कार्यक्रम स्थानीय रेडियोबाट हरेक दिन प्रसारण हुन्छ। कार्यक्रम सुनेर सिक्नकै लागि उनीहरुले नियमित रेडियो सुन्ने गरेका छन्। कक्षा ७ मा अध्ययनरत थुलुङ दूधकोशी–६ मुक्लीकी दिव्या राईले लकडाउनका कारण पढ्ने बानी कम हुन थालेको भए पनि विगत एक महिनायता पुनः पढ्ने बानीको विकास भएको बताइन्। विद्यालय शिक्षाबाट वञ्चित दिव्याजस्ता कैयौँ बालबालिकालाई रेडियोको सिकाइ सहयोगी बनेको छ।

यस्तै कक्षा ४ मा अध्ययनरत दिव्याकै बहिनी सुप्राज्ञ राईको पनि दैनिकी बदलिएको छ। अनलाइनमार्फत पनि कक्षा दोहो¥याई तेहे¥याई सुन्ने गरेको उनको भनाइ छ। शुरुमा अभिभावकले समेत बिहान बेलुकाको समयमा रेडियो सुन्न लगाउनुपर्ने भए पनि अहिले आफैँ पढ्न बस्ने गरेको अभिभावक धनरुपा राईको भनाइ छ।

लकडाउनका कारण पठनपाठन ठप्प भएपछि सोलुखुम्बुमा नयाँ शिक्षण विधि अपनाइएको छ। लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएको ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपाल नामक गैरसरकारी संस्थाले स्थानीय रेडियोमार्फत कक्षा सञ्चालन गरिरहेको छ। बन्दाबन्दीका कारण दुई महिनादेखि घरमा नै बस्न बाध्य बालबालिकाले रेडियोबाट सिक्ने वातावरण निर्माण भएपछि खुशी भएका छन्।

जनजागृति मावि सल्लेरी कक्षा ३ मा पढ्ने सिसम राईले पनि रेडियोबाट सिक्न रमाइलो लागेको बताए। उनले पनि मोबाइलबाटै रेडियो सुन्दै आफ्नो कक्षा नछुटाई सुन्ने गरेको अभिभावक निमडोमा राईको भनाइ छ। जसबाट विद्यार्थीको शिक्षा लिन पाउने अधिकारसमेत सुरक्षित भएको उनले महसुस गरे।

कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई लक्षित गरी नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान विषय केन्द्रित (रेडियोबाट सिकाइ) कार्यक्रम सञ्चालन गरिएको रिड नेपालका शिक्षा विकास संयोजक केशव गिरीले जानकारी दिए। विगत एक महिनादेखि जिल्लाको सोलु र हिमाल एफएममार्फत उक्त कार्यक्रम प्रसारण भइरहेको छ। हरेक दिन साँझ र बिहान प्रसारण हुने रेडियोबाट सिकाइ कार्यक्रम प्रभावकारी भएको विद्यार्थी तथा शिक्षकको प्रतिक्रिया छ।

सोताङ क्षेत्रका विद्यार्थी सानो समूहमा मिलेर रेडियो सुन्ने र सिक्ने गरेको वरबोट आधारभूत विद्यालयका विद्यार्थी सुदीप कार्कीले बताए। आफ्नो घरमा रेडियो नभएकाहरु रेडियो हुने घरमा पुग्ने गरेको शिक्षकको भनाइ छ। सल्यानमा वरपरका साना साना नानीबाबुहरु ७ बजे नै कापी कलम बोकेर रेडियो सुन्न आइपुग्ने गरेको शिक्षक चूडाकुमारी केसीले बताइन्। उनले रेडियो सुन्दै विद्यार्थीले सिक्दै गरेको र उनीहरुले नबुझेको कुरा आफूले बुझाउनका लागि सहजीकरण गरिरहेको बताइन्।

त्यस्तै दूधकुण्ड हिमालय आधारभूत विद्यालयका विद्यार्थीले फोन गरेरै आज त कथा सुन्यौँ, गीत गायौँ मिस भनेर आफूलाई सुनाउने गरेको शिक्षक रमा कट्टेलले बताइन्। यो कार्यक्रमले विद्यार्थीलाई मात्र होइन, शिक्षकलाई समेत सहयोग पुगेको शिक्षक सुमन निरौलाको भनाइ छ। शिक्षक केशरी श्रेष्ठले रेडियो कार्यक्रम ज्यादै राम्रो भएकाले विद्यार्थीलाई सिकाइमा निकै टेवा पुग्ने विश्वास व्यक्त गर्दै आफूले पनि दैनिक कार्यक्रम सुन्दै आएको बताए।

कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने र विद्यालय सञ्चालन नहुन्जेल निरन्तरता दिने रिड नेपाल सोलुखुम्बुका शिक्षा विकास संयोजक केशव गिरीको भनाइ छ। अष्ट्रेलियन हिमालयन फाउण्डेसनको सहयोगमा वैशाख २१ गतेदेखि रिड नेपालले नियमितरुपमा (रेडियोबाट सिकाइ) कार्यक्रम प्रसारण गरिरहेको छ। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।